गत वर्षको जुन २५ तारिख २०२१ अर्थात २०७८ असार ११ गते दिउँसो हामी इन्द्रावती ५ का केही राजनीतिक र सामाजिक अगुवा भनिने लण्ठुहरु बाहुनीपाटी वारी इन्द्रावती बगर तिर भेला भएका थियौं । असार १ गतेको मेलम्ची बाढीले इन्द्रावती ५ बाट बाहुनीपाटी मेलम्ची ओहोरदोहोर गर्ने पैदलमार्ग समेत अवरुद्ध भइसकेको थियोे । पैदलमार्ग पनि नाम मात्रैकाे थियोे मुश्किलले दुईवटा पाउ अटाउन पनि कठिन थियोे । याे समस्या आजको मात्रै थिएन । विगत २५ वर्षदेखि हामी निमुखाहरु झुण्डिदै , लड्दै, घाइते हुदै र एकदुई थान ज्यान खेर फाल्दै त्याे मिनि कर्णालीकाे यात्रामा सामेल थियौं । त्यही पनि अवरुद्ध भयाे । इन्द्रावतीले कान्लासम्मै आफ्नो अधिकार जमाइसकेकाे थियो । अब झुण्डिने र पछारिने सुविधा पनि हामीसंग बाँकी रहेन । हामी बिलखबन्द पर्दै विकल्पको खाेजीमा छलफल चलायाैं ।
करिब १ सय मिटर माथिबाट सवारी साधन समेत आवतजावत गर्न सकिने गरि नयाँ ट्र्याक खाेल्ने विकल्प निस्कियाे । बजेटको लागि इन्द्रावती मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमसंग गुहार मागियाे तर हाम्रो विकल्पमा केही साथीहरूकाे सकारात्मक भुमिका कम देखियो । हामी केही निराश पनि भयौं । मेराे मन साह्रै कुँढियाे । साथीहरू संगकाे सल्लाह बमाेजिम त्याे भिरमा झुण्डिदै यात्रा गरेको केही थान फाेटाे सहित बेलुकी घरमा आएर ” मेराे सरकार ! याे फाेटाे कर्णाली पारीकाे हाेइन” शिर्षकमा केही गन्थन सहित फेसबुक स्टाटस पाेष्ट्याएँ । तत्कालीन पालिका अध्यक्षले साे स्टाटस पढेपछि वडा अध्यक्ष संग जिज्ञासा राख्नु भएछ । केही समय वडा अध्यक्ष मसँग अलि अलि रिसाउनु पनि भयाे हामी काम गर्दै थियौं हत्तपत्त फेसबुकमा हालीहाल्नु पर्छ त दाइ भनेर । खैर जे हाेस भाेलीपल्ट वातावरण सहज भयाे र करिब १५ दिनको अथक मेहनत पछि अलिक माथिबाट स साना सवारी हिड्न मिल्ने गरि बाटाे बन्यो । हामी स साना सवारीधनी भई टाेपलेकाहरु भिरमाथीबाटै हुँइकिन थाल्यौं । पैदल यात्रुहरु भिरमुनि तिरै झुण्डिदै र घस्रदै यात्रा धानिरहे ।
झण्डै १३ महिनापछि हिजाे पाैने चार बजेतिर बेशिमा खन्दै गर्नुभएको दाईले फाेन गर्नुभाे – भाइ, पुलवारी भिरबाट चिप्लिएर दुई जना बेपत्ता छन, मसँग पुलिसको नम्बर छैन, बुहारीलाई खबर गर्दिनु पराे । अनि म आफै खंग्रङ्ग खसे झैँ भएँ । प्रहरीलाई खबर गरेर हामी बगर तर्फ फदाल्याैं । त्यहाँको दृश्य हृदयविदारक थियोे । केहि माथि नर्सरीमा पढ्दै गरेको सानाे बाबु बिशेश चालिसेकाे बिक्षिप्त शव थियोे भने केही तल गाेमा भाउजूको दर्दनाक शरीर । मलाई सिधै हेर्ने हिम्मत समेत आएन । याे मृत्युको अलिकति भागेदार म पनि हुँ जस्तो लाग्यो । मेराे सानाे गाउँ धुसेनीमा देशका ठुला ठुला पार्टीका प्रदेश तह देखि केन्द्र सम्म परिचय भएका नेताहरू पनि छन । जिल्ला तहका त दर्जनभन्दा बढि नेता मेराे सानाे गाउँमै छन् । पञ्चायत देखि गणतन्त्र सम्म नेतृत्व गर्ने जनप्रतिनिधि मेरै गाउँमा छन् । माैका परे मै पनि सानातिनाे नेतै हुँ भन्ने गरेको थिएँ । तर काठमाडौं चाबहिल बाट ३६ किलोमिटरको दुरिमा रहेको मेराे गाउँमा अझै पनि पैदल हिड्दै गर्दा मान्छेहरू लडेर मृत्युवरण गर्दैछन भन्दा हामीले हामीलाई कसरी परिचय गराउने ? घटनाको आधा घण्टामा घटनास्थल पुगेको मान्छे तर पनि समाचार सम्प्रेषण गर्ने हिम्मत आएन ।
शायद याे आलेख पनि तयार गर्दिनँ थिएँ हाेला । प्रिय दाइ , सञ्चारकर्मी शुदर्शन आचार्यकाे हिजोकाे फेसबुक स्टाटस हेरेपछि केही लेख्ने जमर्को गरेको हुँ ।
आज बिहानै पालिका अध्यक्ष झम्क नेपाल , प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा , वडा अध्यक्षहरु शशिनाथ आचार्य , रविन्द्र खाति, पुर्वाधार शाखाका कर्मचारी र मेलम्ची १२ का निवर्तमान वडा अध्यक्ष राम ब. तामाङ लगायतको टाेली घटनास्थल पुगेर आजैदेखि बाटो व्यवस्थित र सुरक्षित बनाउन काम शुरु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मैले केही साथीहरू संग छेउमा बसेर फुस्स कुरा पनि गरेँ – हाम्रो गाउँकाे बाटो बन्न शिरुवारी देखि आएर मेरी गाेमा भाउजू र मेलम्ची देखि आएर त्याे अबाेध बालक बिशेशले ज्यान आफल्नु पर्ने रहेछ हैन त ? खैर जे नहुनु थियोे त्याे भइसक्यो । तर मेराे सरकारलाई मेराे आग्रह तपाईंहरुले मसिनो ढंगले आफ्नो पालिका भित्रका जाेखिमयुक्त वस्ती, बाटो , बिद्युत लगायतमा ध्यान दिनुहाेला । हामी जनताको करबाट राम्रो गाडी खरिद गरिएकै छ । महंगो भएपनि जतिसुकै पेट्रोल डिजेल खर्च गर्नुस हामी हिसाब माग्दैनाै हरदम बाटो, वस्ती र बिजुलीका समस्याको रखवाली गर्नुस र याेजना बनाउनुस तर अकालमा नागरिकको ज्यान नजाओस् , शुदर्शन धिताल दाइ र बिष्णु चालिसे दाइको परिवारकाे नियति फेरि नदाेहाेरियाेस ।
प्रतिक्रिया दिनुहोस