बत्ति मुनिको अँध्यारो भने झैं सिन्धुपाल्चोक जिल्ला राजधानी काठमाण्डौंबाट करीब ४० किलोमिटरको दुरीमा रहेको बिकासको हिसाबले संधैं पछि परेको जिल्ला हो । पञ्चायत कालमा पनि सिन्धुपाल्चोक मोहन शम्शेर राणाका नाती पशुपति शम्शेर जबरा र सुर्यबहादुर थापाका विश्वासपात्र नेत्रबिक्रम थापाले शासन चलाएको जिल्ला हो तर सिन्धुपाल्चोकको परिचय चेलिबेटी बेचबिखनका नाममा मात्र नम्बर १ मा रह्यो । २०४६ सालको परिवर्तनपछि पनि सिन्धुपाल्चोकका हस्ती नेताका रुपमा अमृत कुमार बोहरा र पशुपति शम्शेर जबराकै नाम अग्रपंक्तिमा रह्यो तर बिकास र समृद्धि सपना मात्रै भो । गणतन्त्रको उदयपछि अग्निप्रसाद सापकोटा, मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङको नाममा जिल्लाको चर्चा भयो तर भौतिक र सामाजिक बिकास शुन्यप्राय नै भो भन्दा फरक नपर्ला । यहि पृष्ठभूमी र यथार्थताका बिच आम निर्वाचन २०७९ हाम्रो सन्निकट छ । आज सिन्धुपाल्चोक फेरी पनि चर्चामै छ किनकी यसपटक सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नं २ मा केपी ओलीका विश्वासपात्र नेकपा (एमाले) का स्थायी समिति सदस्य शेरबहादुर तामाङ र नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत आमने सामने खडा भएका छन् । राजनैतिक परिदृश्य भन्छ मोहन बस्नेत हार्दा मोहन बस्नेत हार्ने होइनन् देउवा, प्रचण्ड र अग्निप्रसाद सापकोटा हार्ने हुन् र शेरबहादुर हार्दा शेरबहादुर हार्ने होइनन् ओली बा हार्ने हुन । यो हेवी वेट भिडन्तमा साँच्चैको ग्राउण्ड रियालिटि चैं के छ त ? चर्चा गर्नु आवश्यक देखिन्छ ।
स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम
सिन्धुपाल्चोक जिल्लाका १०३ वटा वडाहरु मध्ये प्रतिनिधि सभा क्षेत्र नं १ मा ५४ वटा वडा र क्षेत्र नं २ मा ४९ वटा वडाहरु छन् । प्रतिनिधि सभा क्षेत्र नं २ मा हेलम्बु गाँउपालिका का ७ वटै वडा, पाँचपोखरी थाङ्पाल गाँउपालिकाका ८ वटै वडा, मेलम्ची नगरपानलिकाका १३ वटै वडा, इन्द्रावती गाँउपालिकाका १२ वटै वडा र चौतारा साँगाचोकगढी नगरपालिकाका १४ मध्ये ९ वटा वडा पर्दछन् । यो क्षेत्रमा पर्ने कुल ४९ वडा मध्ये नेकपा (एमाले) ले २२ वटा वडा, नेपाली कांग्रेसले २० वटा वडा, माओवादी केन्द्रले ६ वटा वडा र राप्रपाले १ वटा वडामा जित निकालेका छन् । जिल्लामा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धन छ भने एमाले र राप्रपा एकल एकल चुनावी मैदानमा छन् । यो हिसाबले स्थानीय तह २०७९ को चुनावमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा शेरबहादुर तामाङ भन्दा गठबन्धनका मोहन बस्नेत करिब १७ हजार मतले अगाडी छन् । स्थानीय तह २०७९ को मत गठबन्धनमा राम्रैसंग ट्रान्सफर भएमा शेरबहादुर तामाङलाई पराजित गर्न मोहन बहादुर बस्नेतलाई कुनै कठिनाई छैन ।
दुबै हेवि वेट नेताको चुनावी इतिहाँस
२०४८ सालको निर्वाचनदेखि संसदिय चुनावमा होमिएका मोहन बस्नेत पहिलोपटक तत्कालिन सिन्धुपाल्चोकको क्षेत्र नं १ मा एमाले नेता अमृतकुमार बोहरासंग पराजित भए भने २०५६ को आम निर्वाचनमा उनै अमृतकुमार बोहरालाई पराजित गर्दै संसद छिरे । २०६४ को निर्वाचनमा माओवादीका राजकुमार श्रेष्ठसंग फराकिलो अन्तरले पराजित बस्नेत २०७० को निर्वाचनमा एमालेका अरुण नेपाललाई ३२ मतले पराजित गर्दै संबिधानसभा सदस्य निर्वाचित भए । २०७४ को संसदिय निर्वाचनमा माओवादीका अग्निप्रसाद सापकोटासंग पराजित बस्नेत आम निर्वाचन २०७९ मा माओवादी समेतकै समर्थनमा संसद छिर्ने दौडमा छन् । त्यसैगरी २०५६ को आम निर्वाचनमा तत्कालिन नेकपा (माले) का तर्फबाट पहिलोपटक संसदिय दौडमा रहेका शेरबहादुर तामाङ सो चुनावमा राप्रपाका पशुपति शम्शेर जबरा संग र एमालेका तर्फबाट उम्मेदवार हुँदै २०६४ मा माओवादीका दावा तामाङसंग लगातार दोश्रोपटक पराजित भए । २०७० को संबिधानसभा चुनाव र २०७४ को आम चुनावमा उनै पशुपति शम्शेर जबरालाई पराजित गर्दै तामाङ लगातार दुईपटक संसद छिरे ।
राजनैतिक इतिहाँस, भाग्य र भरोसा
दुबै हेवि वेट नेताहरुको राजनैतिक इतिहाँसले पनि दुबै नेता झण्डै झण्डै शक्तिका पछाडी बिश्वास राख्ने नेताकारुपमा देखिन्छन् । नेपाली कांग्रेस बिभाजित भएर प्रजातान्त्रिक कांग्रेस बन्दा मोहन बस्नेत प्रजातान्त्रिक कांग्रेसमा थिए भने एमाले बिभाजित भएर माले बन्दा शेरबहादुर तामाङ माले भएर २०५६ मा चुनाव मै सहभागी भएका थिए । त्यति मात्रै नभएर शेरबहादुर तामाङ केहिदिन प्रतिगमन बिरुद्धको आन्दोलन र केहिदिन बालुवाटार ओहोरदोहोर गरेको दृश्यले पनि सिन्धुवासी आजित भएका थिए । यी दुबै नेताको चुनाव जित्ने र हार्ने भाग्यरेखा पनि उस्तै देखिन्छ । बस्नेतको २०४८ मा हार २०५६ मा जित, २०६४ मा हार २०७० मा जित र २०७४ मा हार र क्रमभंगता नभए २०७९ मा जित जस्तै देखिन्छ भने शेरबहादुरको २०५६ र २०६४ मा लगातार दुई हार र २०७० र २०७४ मा लगातार दुई जित भएको देखिन्छ । यी दुई नेताको पुर्पुरोले पनि शेरबहादुरलाई यो चुनाव जित्न कठिन जस्तै देखिन्छ । त्यसमाथि लगातार दुईपटक संसद छिरेर पनि सिन्धुपाल्चोककाे बिकास र जनताको सुखदुःखमा साथ नदिएको आराेप आफ्नै कार्यकर्ताबाट खेपेका तामाङ र टुरिष्ट उम्मेदवारकाे आराेप खेपेका बस्नेत बिचकाे भिडन्त यो चुनावमा हेर्न लायक हुनेछ । दुबै नेताको आशा र भरोसा पनि एकिकृत समाजवादी र माओवादी प्रति नै छ । बस्नेत गठबन्धनप्रति ढुक्क छन् भने तामाङ असन्तुष्ट कांग्रेस, माओवादी र समाजवादीप्रति आशावादी छन् ।
प्रतिक्रिया दिनुहोस