
केहि दिन अघिको कुरा हो जगन्नाथ दाईले फोन गर्नुभएछ । भेट गर्न आग्रह गर्नुभो । फुर्सद मिलाएर भेट्न गएँ । असार १४ गते मदन भण्डारीको ७२ औं जन्मदिवसमा आफ्नै आँगनमा सानो कार्यक्रम गर्ने बिचार गरेको छु आउनुपर्छ है । मैले स्कुल जानुपर्छ, भ्याँए भने आँउछु भने । फेरि अस्ती भेट भो । मैले पर्सिको कार्यक्रम अलि फरक शैलिमा गर्ने सोच बनाएँ भन्नु भो । अब कार्यक्रम उहाँको पार्टीको टोल कमिटीले खुल्ला चौरमा आयोजना गर्ने भएछ । मलाई अलिक अप्ठेरो लाग्यो । म त उहाँको पार्टी कार्यकर्ता हैन, तैपनी सोचें मदन भण्डारी नराम्रा मान्छे हैनन् त्यसमाथी खुल्ला ठाँउमा एउटा कलमकर्मीको नाताले जाँदा के फरक पर्ला र ? सहमतीमा टाउको हल्लाएँ । आज १४ गते । संयोगले सरकारले सार्वजनिक बिदा दियो । बिहान सवा सात बजेतिरै उहाँले बोलाएको ठाँउमा पुगियो । जगन्नाथ दाई र दामोदर कट्टेल दुई भाई मात्रै मञ्च व्यवस्थापनमा रहेछन् । दुध डेरीमा आएका कृषकहरु पनि घर फर्किसकेका थिए । आजका कार्यक्रमका सभापति पार्टीका टोल कमिटी अध्यक्ष चटक बहादुर नेपाली सुट बुटमा सजिएर यताउती भौतारिइरहहेका देखिन्थे ।
अलिक पर केदार माझी भाइको पसलमा एमाले पालिका कमिटी सह सचिब रामकुमार भाई र एकदुइ जना बुढापाकाहरु कार्यक्रमस्थल पटी हेरेर केहि फुसफुस कुराकानी गरिरहेका देखिन्थे । म पनि त्यतैतिर खुसुक्क चिप्लिएँ । मैले कुरो चलाइहालें, बुढाले कार्यक्रम भन्थे मान्छेहरु खोइ छैनन् त ? मैले पनि भरखर थाहा पाएको, सहसचिब भाइले हतारमा जवाफ फर्काए । अनि पार्टीको कार्यक्रम तिमी यहाँ बसेर हुन्छ त ? मैले सोधें । खोइ बुढाको के के हो ? त्यति चासो नभए झैं उनको भाव देखिन्थ्यो । सवा आठ बजे हाराहारी तिर एमाले पालिका अध्यक्ष शशिनाथ आचार्य सहित एकदुइ जना देखा परे । कार्यक्रमका प्रमुख अतिथि उनै रहेछन् । अझै कार्यक्रमको ब्यानर आइपुगेको थिएन । एकाध केटाकेटी र बुढापाका सहित जम्माजम्मी १२÷१५ जना कार्यक्रम स्थलमा भेला भएर कार्यक्रम शुरुवात भयो । दुइ जना जेष्ठ नागरिकको सम्मान, जगन्नाथ दाईका एकदुई थुङगा मदनका कविता र प्रमुख अतिथिको भाषण सहित १ घण्टामा कार्यक्रम समापन गरियो । र, परिणाम स्वरुप मलाई यो अब्याकरणिक (ब्याकरण नमिलेको) शिर्षकमा यो आलेख तयार पार्ने भोक जाग्यो र शिर्षक अनुसारको कथा यसरी शुरु हुन्छ ।
मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका बहुचर्चित पात्र । बि.स. २०४८ साल सम्म आन्दोलन र संगठनमै हिडेका बाहेक आम मान्छेले नचिनेको एउटा चरित्र । जब २०४८ सालमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाण्डौबाटै पराजित गर्दै संसद छिरे त्यसपछि भने मदन भण्डारी शहरबजार, गाँउबस्ती र घर घरमा एउटा जादुमयी छबिका रुपमा प्रवेश गरेका थिए । उनको अद्भुत वाक कला र जनताको बहुदलीय जनवाद मार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण गर्न उनले दिएको बैचारिक बिकल्पले नेपालीको मात्रै हैन छिमेकीहरुको नजर पनि उनीमाथि परेको अवश्य नै थियो । तर, दुर्भाग्य २०५० सालको शुरुमै दासढुंगा दुर्घटनामा उनको इहलिला समाप्त भयो वा गरियो ? त्यो रहस्यको गर्भ मै छ । अब मलाई सधैं लाग्ने एउटा कुरा यी मदन भण्डारी आज सम्म बाँचेका भए साँच्चै मदन नै हुन्थे होला ? वा नेपालको हावापानी र ब्युरोक्रेसीले उनलाई पनि आजका ओली, माधब, झलनाथ, बाबुराम, प्रचण्ड जस्तै वा चित्रबहादुर, मोहनबिक्रम र बैद्य जस्तै बनाउँथे होलान ? किनभने नेपाली जनताले बाबुराम, प्रचण्डसंग पनि सानो आशा त पक्कै राखेका थिएनन् । के ओली, माधब, झलनाथहरु पनि साँच्चै आगोका लप्कामाथि नै खेलेर आएका हैनन् र ? मलाई लाग्छ बाबुराम एकपटक अर्थमन्त्री भएपछि लगत्तै मदनको जस्तै घटना भएको भए ? आज नेपाली जनता उनलाई कसरी सम्झिरहेका हुन्थे होलान् ? मेरो आशय मदन राम्रा मान्छे थिएनन् भन्ने चैं पक्कै हैन तर उनको बिचार र बहुदलिय जनवादले आज जगन्नाथ, म र महरुजस्ताको जीवनमा देखिनेगरिको केहि भिन्नता आयो र ? कति मान्छेलाई नमिठो लाग्न सक्छ तर सारमा मदनको बहुदलिय जनवादले एमाले भन्ने पार्टीलाई उनको बिचारको ब्याजले सत्तामा जाने बाटो खन्ने र बिद्या भण्डारीलाई राष्ट्रपति बनाउने बाहेक के तात्विक भिन्नता आयो र नेपालीको जीवनमा ? के बिद्या भण्डारीले दुई कार्यकाल राष्ट्रपति हुँदा दासढुंगा घटनाको छानबिन गर्न प्रयास गरिन ? के दिनहुँ हजारौं नेपाली युवा भोको पेटका खातिर अरब जान लाइन लाग्नुको पिडा बहुदलिय जनवादले बुझेन ? के बहुदलयि जनवादले देशमै कलकारखाना, उद्योगधन्दा खोल्न र उत्पादनमा लाग्न सिकाएन ?
अब जगन्नाथ दाइका कुरा । यीनैले भने अनुसार उनी मदन भण्डारीका सहपाठी । म जन्मनुभन्दा पनि एकदुई बर्ष पहिले नै ३० को दशकको शुरुवाततिरै जगन्नाथ आचार्यबाट आचार्य जगन्नाथ भएर गाँउ फर्केका तत्कालका एक क्रान्तिकारी युवा । आज करिब ५ दशक बितेछ । खै त दाजै तपाँइले राेपेकाे त्यो जागरणको बिरुवा ? कहिले सप्रन्छ, कहिले फल्छ र हामी त्यो फल खान पाउछौं ? हो तपाँइले कसैको दुई पैसामा राल चुहाउनु भएन, आफ्नो ब्यक्तिगत सुख सुविधा खोज्नुभएन, भुँईमा बसेर भुँइमान्छेहरुको दुखमा संगै रुनुभो, खुशिमा रमाउनुभो, मेलापात, बिहे ब्रतबन्ध, जन्ती मलामी संगै जानुभो त्यो मानें तर दाजु तपाँइले भन्ने तपाईका माइलादाई पुष्पलाल र सहपाठी मदन भण्डारीका आदर्श र बिचारले खाडीमा भौतारिएका हाम्रै गाँउका दर्जनौं १६÷१८ का युवाहरुको बाटो किन छेक्न सकेन ? तपाँइले पचास बर्ष मेहनत गर्दा पनि किन हर्के माझी, रामकृष्ण माझी र गुँइठे माझीहरुले अझै नाती नातिना स्कुल पठाउनुपर्छ भनेर सिकेनन् । त्यसैले दाजु ४० बर्ष अगाडी भोकमरि लाग्दा हामीले गहुँ पठाउने कोरिया जान हाम्रा युवाहरु ज्यान आफलेर लागेका छन । बरु ७० दिन पैदल हिड्ने आँट गरेर चोरी बाटो हुँदै पोर्चुगल छिर्न तयार छन् तर बागखोरको चौरमा बसेर मदनका कविता सुन्न तयार छैनन् त्यसैले होला आज तपाँइको आयोजक कमिटीको सचिव नै कार्यक्रम स्थलकै आसपास भएर १५ सय कमाउन खुसुक्क बाटो तताएको । पात्र जसको नाम प्रयोग भए पनि एउटा कुरा चैं प्रष्ट छ म र महरु अब पनि बिचार, आदर्श, त्याग, बलिदानका नाममा आफुलाई र आफ्ना सन्ततीलाई पुस्तौं पर्खाउन तयार छैनौं, परिवर्तन सम्भव छ हाम्रै पालामा, यदि नेतृत्वको चाहना भएमा, यो कुरा कुलमान घिसिङ, सुदन किराँती लगायतले प्रमाणित गरेर देखाइसकेका छन् त्यो पनि हाम्रै नेपालमा । त्यसैले अब पुराना भनिनेहरुले सच्चिनु र सक्किनु बाहेक अरु विकल्प अवश्य छैन । सबैको जय होस ।
प्रतिक्रिया दिनुहोस