मेलम्ची । प्रकृति रिसोर्सेज सेन्टरको आयोजनामा तथा मेलम्ची नगरपालिकाको सहकार्य र समन्वयमा “स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती तथा अवसरहरू” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता तथा स्थानीय स्तरमा दिगो विकासका लागि अपनाउन सकिने उपायहरूबारे छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिन स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नवीकरणीय ऊर्जा, वैकल्पिक ऊर्जा र ऊर्जा दक्षताका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। ऊर्जा दक्षता भनेको कम ऊर्जा प्रयोग गरेर बढी परिणाम हासिल गर्ने प्रक्रिया हो।
कार्यक्रममा वक्ताहरूले नेपालमा नवीकरणीय तथा वैकल्पिक ऊर्जाको प्रयोग विस्तार हुँदै गएको भए पनि ग्रामीण क्षेत्रहरूमा अझै थप लगानी, प्रविधि र जनचेतनाको आवश्यकता रहेको बताए। मेलम्ची नगरपालिकामा पनि सुधारिएको चुलो, बायोग्यास, सौर्य ऊर्जा तथा अन्य स्वच्छ ऊर्जा प्रविधिको प्रयोग बढाउने सम्भावना रहेको औँल्याइएको थियो।
कार्यक्रममा बोल्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक लक्ष्मण घिमिरेले ‘वेस्टेज टु इनर्जी’ कार्यक्रमअन्तर्गत देशका २५ वटा पालिकासँग सहकार्य गरेर काम गर्ने योजना रहेको जानकारी दिए। उनले मेलम्ची नगरपालिकासँग पनि उक्त कार्यक्रम सञ्चालनका लागि सहकार्य गर्न सकिने उल्लेख गर्दै सुधारिएको चुलो तथा फलामे चुलोलाई अनुदान कार्यक्रमसँग जोड्न सकिने बताए।
कार्यक्रमका अवसरमा आफ्नो धारणा राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस्ता महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उनले प्रकृति रिसोर्सेज सेन्टरबाट नगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य र सहयोगको अपेक्षा रहेको बताए। जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जासम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन नीति तथा कार्यक्रममार्फत बजेटको व्यवस्था गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले समन्वय र सहकार्यका माध्यमबाट समस्याको निकास खोज्ने कार्यमा नगरपालिका पछि नपर्ने बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, समुदायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्दै स्वच्छ र दिगो ऊर्जा प्रवर्द्धनका लागि स्थानीय तथा राष्ट्रिय तहबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस