संसदीय व्यवस्थाअन्तर्गत हुने चुनावमा राजनीतिक एजेण्डा र नेतृत्वभन्दा आर्थिक तथा भौतिक वस्तुको प्रभाव बढी हुने गरेको छ । त्यसकारण न समाजले चाहेको जस्तो विकास भयो न त जनता व्यवस्थाप्रति खुसी भए । लोकतान्त्रिक गणतन्त्र घोषणा भएर नयाँ संविधान बनेपछि विकासको पुरानो अड्डा सिंहदरबार गाउँघर आएको मानिन्छ । तैपनि, स्थानीयले चाहेजस्तो विकासको मूल नै चाहिँ फुटेको छैन । यसको कारण हो राजनीतिक दलले छान्ने स्थानीय तहको उम्मेदवार राम्रो नहुनु । चुनावमा जित्नैपर्ने दबाबको कारण दलले छनोट गर्ने कतिपय उम्मेदवार राजनीतिक भन्दा पनि अरु क्षेत्रबाट जबर्जस्त ल्याइन्छ ।
यतिबेला चुनावी माहोल तातेको छ । जिल्लामा रहेका १२ स्थानीय तहमध्ये सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका सबैभन्दा ठूलो स्थानीय सरकार हो । यहाँ यसपटक माओवादी केन्द्रले राजनीतिका ‘रोलमोडेल’ कृष्णप्रसाद सापकोटा देशबन्धुलाई उठाएको छ । किसानको छोरा कृष्णप्रसाद सापकोटा सभामुख अग्निप्रसाद सापकोटाका कान्छा भाइ हुन् । तर, उनको परिचय सभामुखसँग खासै जोडिदैन । किनकि, उनी राजनीतिका उदाहरणीय व्यक्ति हुन् । नगरवासी उनलाई देशबन्धु भनेर चिन्छन् । ६० वर्ष उमेरका कृष्णप्रसादले राजनीति गरेको ४० वर्ष भयो । चार दशक लामो राजनीतिमा कहिल्यै कुनै लाभको पद लिएनन् । जन्मस्थान कुविन्डेका स्थानीय उनलाई प्रेरणाको स्रोत मान्छन् ।
कुविन्डेलाई नमूना गाउँ बनाए
कृष्णप्रसाद २०४९ को स्थानीय चुनावमा जनमोर्चाबाट कुविन्डे गाविस अध्यक्षमा भारी मतले निर्वाचित भएका थिए । छोटो समयमा गाविसलाई नमूना बनाउने योजना बनाए । कुविन्डे अहिले सिन्धुपाल्चोकको नमूना गाउँ हो । सुरुमा उनले कुविन्डे दूग्ध उत्पादक सहकारी संस्था स्थापना गरेर सबै किसानलाई गाइभैँसी पालनमा प्रोत्साहन गरे । यो संस्था कृषि क्षेत्रमा अहिले जिल्लाको सबैभन्दा ठूलो सहकारी हो । त्यसपछि जनहित ग्रामीण सेवा समिति नामक संस्था स्थापना गरेर जनचेतना फैलाउने र विकास निर्माणमा सहयोग गर्ने काम गरे । उनकै योगदानले कुविन्डेका प्रत्येक घरले भैँसी पालनबाट मासिक ५० हजारदेखि एक लाखसम्म कमाउँछन् । जनयुद्धबाट फर्केर आएपछि गाउँमा रहेको सेतीदेवी पञ्चकन्या माविको अध्यक्ष भएका उनले शैक्षिक गुणस्तर बृद्धि गरेर जिल्लामै पहिलो पटक बालीविज्ञान विषयमा कक्षा सञ्चालन गरे ।
आफै गर्छन् खेतीपातीको काम
माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका देशबन्धु राजनीतिमात्रै होइन खेतीपाती पनि आफै गर्छन् । महिनामा १० दिन खेतमा काम गर्छन् । जोत्ने, खन्ने, घाँस काट्ने र भैँसी दोएर दूध बेच्न डेरीमा लाने गर्छन् । अहिले उनी चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार छन् । चार दशक लामो राजनीतिक र कुविन्डेबाट प्राप्त अनुभवको संयोजनले नगरलाई मोडेल बनाउने उनको योजना छ । उनको योजना कृषिमा केही गरौं भन्ने छ । चुनावी अभियानमा रहेका कृष्णप्रसादले आधुनिक र सामुहिक खेती प्रणालीको विकास गरेर मोडेल तयार गर्ने बताए ।
कुविन्डेलाई सहिदहरुको गाउँ भनिन्छ । माओवादी जनयुद्धमा एकै गाउँका १९ जना सहिद भएका छन् । कृष्णप्रसाद सहिद प्रतिष्ठानका केन्द्रीय अध्यक्ष पनि हुन् । उनको जेठी छोरी शुभद्रा र ठूलो दाजुका दुई छोरा रेवती र प्रेम जनयुद्धमा मारिए । जनयुद्ध सुरु हुनुपूर्व नै ०५१ मंसिरमा उपाध्यक्ष अमानसिंह तामाङलाई कार्यबाहक अध्यक्ष छोडेर उनी भूमिगत भएका थिए । भूमिगत छँदा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काभ्रे जिल्लाको प्रमुख भएर जिम्मेवारी पनि पूरा गरे । चौसाँगढी नगरको मेयरमा उम्मेदवार बनेपछि अहिले उनी चर्चामा छन् । उनसँग काँग्रेसका केशवराज गिरी र एमालेबाट इन्द्रबहादुर नेपाल प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस