सिन्धुपाल्चोक । ग्लोबल इन्क्लुसिभ एड्भेन्चर अर्गनाइजेसनको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट तथा विद्यालयलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूले संस्थाका प्रतिनिधिहरूलाई खादा ओढाई स्वागत तथा सम्मान गरेका थिए।
सो अवसरमा संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्थाको परिचय दिँदै शिक्षा, वातावरण संरक्षण र महिला सशक्तीकरणका क्षेत्रमा संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइन्। उनले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, पर्यटनसम्बन्धी तालिम सञ्चालन गर्ने तथा समुदायको समग्र विकासका लागि निरन्तर काम गरिरहेको बताइन्।
कार्यक्रममा संस्थाकी प्रतिनिधि मनमाया तामाङ, रञ्जिता ढुंगाना तथा समाजसेवी सुन्दर सापकोटाको उपस्थितिमा विद्यालयमा अध्ययनरत ४३ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको थियो। साथै विद्यालयको शैक्षिक तथा सरसफाइ व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले दुई वटा फोहोरमैला संकलन भाँडा, दुई सेट खैजडी र दुई वटा मादल हस्तान्तरण गरिएको थियो।
ट्र्याकसुट प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए। उनीहरूको खुसी र मुस्कानले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संस्थाका प्रतिनिधिहरू, समाजसेवी सुन्दर सापकोटा तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जाग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अतिथिहरूको सहभागितामा रहेको थियो।

प्रतिक्रिया दिनुहोस