पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा शिक्षा तथा जीविकोपार्जनलाई एकसाथ जोड्ने उद्देश्यसहित शैक्षिक सामग्री वितरण तथा आयआर्जन सहयोग कार्यक्रम सम्पन्न गरिएको छ । प्रयत्न परियोजना र परिवर्तनका लागि सहकार्य नेपालको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थी र लक्षित परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रम अन्तर्गत थाङपालधाप माध्यमिक विद्यालय, गोल्मेश्वरी आधारित विद्यालय तथा बछ्छलामाई आधारभूत विद्यालयका ३६ जना विद्यार्थीलाई झोला, कापी, कलम, पानीको बोतल, छाता तथा विद्यालय पोशाक लगायतका शैक्षिक सामग्री वितरण गरिएको संस्थाकी कार्यक्रम संयोजक नम्रता लामाले जानकारी दिए । उनका अनुसार आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका बालबालिकाको शिक्षामा निरन्तरता कायम राख्ने र विद्यालयप्रतिको आकर्षण बढाउने उद्देश्यले सहयोग प्रदान गरिएको हो ।
त्यसैगरी प्रयत्न परियोजना अन्तर्गत १३ परिवारलाई आयआर्जन सहयोगका लागि बाख्रा वितरण गरिएको छ । ग्रामीण समुदायमा वैकल्पिक आयको स्रोत विस्तार गर्दै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित बाख्रा हस्तान्तरण गरिएको कार्यक्रम संयोजक लामाले बताए ।
कार्यक्रममा उपस्थित पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले शिक्षा र आर्थिक सशक्तीकरणलाई सँगसँगै अघि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न तथा परिवारको आर्थिक अवस्था सुधार गर्न स्थानीय आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो ।
बाख्रा प्राप्त गरेका परिवारका सदस्यहरूले पनि सहयोगप्रति खुसी व्यक्त गरेका छन् । उनीहरूका अनुसार प्राप्त सहयोगले घरायसी आय बढाउन, पशुपालन विस्तार गर्न तथा भविष्यमा स्थायी आम्दानीको आधार तयार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय समुदाय तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमलाई शिक्षा, जीविकोपार्जन र सामुदायिक सशक्तीकरणलाई एकसाथ अघि बढाउने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ । स्थानीय स्तरमा यस्ता कार्यक्रमले बालबालिकाको भविष्य उज्यालो बनाउनका साथै समुदायलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस