नवलपुर ।
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (RHEST) को सहयोगमा ऐंसेलुखर्क माध्यमिक विद्यालयमा अध्ययनरत ४१ जना छात्राहरुलाई छात्रवृत्ति तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।
मंगलबार सम्पन्न कार्यक्रममा छात्राहरुलाई विद्यालय झोला, कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्रीसँगै नगद रकम समेत वितरण गरिएको हो। आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा मेहनती छात्राहरुलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा इन्द्रावती गाउँपालिका का प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिना थापा, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले शिक्षामा लगानी गर्नु भनेको समाजको भविष्य निर्माण गर्नु भएको उल्लेख गर्दै यस्ता सहयोगले विद्यार्थीहरुलाई अध्ययनतर्फ थप हौसला र प्रेरणा मिल्ने बताएका थिए।
विद्यालय प्रशासनले ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न तथा छात्राहरुलाई आत्मविश्वासी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै विद्यालयले सहयोगी संस्था ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (RHEST) प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य निरन्तर रहने अपेक्षा गरेको जनाएको छ।
छात्रवृत्ति पाएपछि पढाइमा सहयोग पुग्ने बताउँदै छात्राहरु उत्साहित भएका छन्। ग्रामीण क्षेत्रका विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्न यस्ता सामाजिक तथा शैक्षिक सहयोग महत्वपूर्ण रहने अभिभावकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस