सिन्धुपाल्चोक जिल्लाकाे मध्य भागमा अवस्थित इन्द्रावती गाउँपालिका उसै पनि जिल्लाकाे बिशिस्ट पहिचान बाेकेके पालिका हाे । माैसम र उब्जनीका हिसाबले तराईसंग तुलना गर्न सकिने भिमटारकाे उर्वर र समथर भु भाग देखि नाैलिङ्गकाे हिउँ पर्ने लेक सम्म फैलिएको इन्द्रावती गाउँपालिका तुलनात्मक हिसाबले जिल्लाका अन्य पालिका भन्दा कम प्राकृतिक जाेखिम भएको पालिका पनि हाे । प्रयोग गर्न जान्ने हाे भने आन्तरिक स्राेत साधन समेत प्रशस्तै जुटाउन सकिने सम्भावना याे पालिका संग छ । वडा नं ५ काे पुछार बाहुनीपाटी आसपास देखि बिसदेउटार सम्म फैलिएको इन्द्रावतीकाे बिशाल बगरबाट लिन सकिने आम्दानी देखि सिम्पाल काभ्रेको सिरान नाैलिङ्गेश्वर सम्मका जडिबुटी र पर्यटनबाट प्राप्त गर्न सकिने आम्दानीले इन्द्रावती गाउँपालिकालाई समृद्ध बनाउन अन्यत्र चाहार्नै पर्दैन तर स्थानीय सरकारसंग ती स्राेत साधन परिचालन गर्ने खुबी र इच्छाशक्ति भने अवस्य हुनुपर्छ ।
२०७४ सालमा निर्वाचित गणतन्त्र पछिको पहिलो स्थानीय सरकारले आय आर्जन र राेजगारी सिर्जनामा उल्लेख्य प्रगति गर्न नसके पनि पुर्वाधार बिकास , बिद्युत, खानेपानी लगायतमा भने स्थानीय सरकारकाे अनुभुती दिलाउने गरि बिकासकाे जग हाल्ने कामकाे शुरुआत भने गरेकै छ । हुनत : समकालीन नेपाली राजनीतिले आफ्ना कार्यकर्तालाई असलीलाई असली र खराबलाई खराब भन्न सिकाएको छैन । आफ्नो पार्टीले जसाे गरेपनि राम्रो र अर्को पार्टीले जसाे गरेपनि खराब भन्नुपर्छ भन्नेमात्र सिकेका कार्यकर्ताले बिपक्षीले गरेको सबै काम गलत देख्छन् पनि हाेला । यद्यपि मेराे नजरमा पालिका कार्यालय देखि अधिकांश वडा कार्यालय समेत नभएर टिनको छाप्रामा सपथ खाएका गत स्थानीय तहका जनप्रतिनिधिहरुले याे पाँच बर्षे कार्यकालमा स्थानीय सरकारकाे ऐन, कानुन , नियमावली बनाउने देखि भाैतिक पुर्वाधार निर्माण सम्मका उल्लेख्य काम गर्न सफल भएको भने छ । गाउँपालिका भवन, वडा कार्यालय भवनहरु, हरेक वडामा प्राथमिक स्वास्थ्य केन्द्र भवन , पालिका स्तरिय खेलमैदान , थुप्रै वडामा वडास्तरिय खेलमैदान , काठेपाेलमुक्त बिद्युतलाइन, वडा नं १० मा थाेरैभएपनि पालिकाकै पहिलो कालाेपत्रे सडक, भुकम्प स्मारक पार्क, थुप्रै वडामा एक घर एक धारा र हरेक घरसम्म सडककाे ट्र्याक खाेल्ने लगायतका कार्यहरु याे पाँच बर्षमा भएको देखिन्छ । हुनत यी यावत कार्यक्रममा स्थानीय सरकारकाे मात्रै उपलब्धि मान्न त सकिदैन किनभने अधिक रुपमा प्रदेश सरकार र थाेरबहुत संघीय सरकारले पनि यी याेजनामा बल पुर्याएका छन । तथापि निवर्तमान स्थानीय सरकारले पालिका भित्र भएका बिकास निर्माणका कार्यलाई हामीले गरेको भनेर दाबी गर्नुलाई अन्यथा भने मान्न सकिदैन ।
गत स्थानीय तह निर्वाचन २०७४ मा जनताले दिएको पाँच बर्षे म्यान्डेटकाे समय सकिएको छ । २०७४ सालमा नेपाली कांग्रेसका नेता बंशलाल तामाङकाे नेतृत्वलाई पालिकाकाे साँचो बुझाएका नागरिकले यसपटक त्याे बेला उनैसंग पराजित एमालेका नेता झम्क नेपाललाई पालिकाकाे बागडोर सम्हाल्ने माैका प्रदान गरेका छन । त्याे समयमा जस्तो सपथ ग्रहण र कार्यभार सम्हालन छाप्रा तिर भाैतारिनु पर्ने अवस्था याे पटक छैन । पालिकाकाे आफ्नै आलिशान दरबार , कार्यकक्ष, भरिभराउ कर्मचारी , प्रविधि मैत्री र व्यवस्थित वडा कार्यालयहरु, गाडीघाेडा, ड्राइभर , पल्सर वाइक , पालिकाका ऐन, कानुन , नियम , नियमावली अनि त्यत्तिकै सक्षम र अनुभवी नेताकाे नेतृत्व । समृद्ध इन्द्रावतीका लागि अन्तिम युद्धकाे पुर्ण तयारी छ । अब मात्र कुन बाटोबाट आफ्नो यात्रा तय गर्ने हाे साे पहिल्याउन जरुरी छ ।
हुनत हामी जस्ता आम नागरिक र स- सानो सामाजिक अभियन्ताले दिएको सल्लाह सुझाव हाम्रो स्थानीय सरकारले सुन्ला वा नसुन्ला त्याे त आफ्नो ठाउँमा छ तर पनि समृद्ध इन्द्रावती बनाउनका लागि केही बिषयहरु प्राथमिकताका आधारमा बुँदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरेको छु । यी बिषयहरुकाे विस्तृतीकरण र कसरी यी विषयलाई बजेट र कार्यक्रममा एप्लाई गर्न सकिन्छ भन्ने कुरा आगामी अंकमा समेट्ने प्रयास गर्नेछु ।
१) शैक्षिक अवस्थामा सुधार ( बजेट धेरै आवश्यक नपर्ने तर साेचमा परिवर्तन गर्नुपर्ने )
२) कृषि र पशुपालन मार्फत स्वराेजगार सिर्जना ।
३) नागरिकको प्रत्यक्ष सहभागीतामा प्रतिवर्ष कम्तीमा ५० जनालाई राेजगारी सिर्जना गर्ने गरि स्थानीय स्राेत परिचालन गर्ने गरि उद्योग सञ्चालन । ( जस्तै वडा नं १ मा मिनिरल वाटर फ्याक्ट्री , वडा नं ८ ज्यामिरेमानेमा दुधसंकलन तथा पनिर उद्योग आदि । उदाहरणका लागि )
४) खानेपानी तथा सिञ्चाई
५) सडक स्तराेन्नति । ( संघ र प्रदेशको सहयोग बढी लिने )
६) खुल्ला ताररहित इन्द्रावतीकाे बिजुली । (प्राधिकरणकाे सहयोगमा )
७) अन्य नियमित कृयाकलापहरु । (पुनश्च : अध्यक्ष ज्यू , इन्द्रावतीकाे समृद्धिकाे लागि पहिलो काम शैक्षिक सुधार र राेजगारीकाे सिर्जना गर्दै बाहिरीएका युवालाई गाउँ फर्काउनु बाहेक अर्को विकल्प छैन है ।)
प्रतिक्रिया दिनुहोस