तातोपानी
उम्मेदवारी फिर्ता लिने अन्तिम समय १६ वैशाख साँझ पाँच बजेसम्म धेरैले मनोनयन दर्ताबाट आफ्नो नाम हटाए । तर, भोटेकोसी गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार श्रेष्ठले कतै कुरा गरेनन्, कोहीसँग मिलेनन् र नाम हटाएनन् । कारण हो भोटेकोसीमा उनको चुनावी प्रचार अभियान दलका उम्मेदवारभन्दा पृथक र मजबुत छ ।
बलिया मध्ये स्वतन्त्र उम्मेदवार चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमानसिंह तामाङ, सुनकोसी गाउँपालिका माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कुवँरलगायतले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । तामाङले प्रचण्डको फोनपछि उम्मेदवारी फिर्ता लिए भने कुवँरले केन्द्रको नीतिविपरीत एमालेसँग तालमेल गर्ने निर्णयपछि असन्तोष व्यक्त गर्दैै उम्मेदवारी फिर्ता लिइन् ।
श्रेष्ठले किन लिएनन् उम्मेदवारी फिर्ता
भोटेकोसी गाउँपालिका वडा नं. २ को अध्यक्ष जितेका श्रेष्ठ माओवादी केन्द्रका प्रभावशाली युवा नेता हुन् । उनी जहिलेपनि नयाँपनामा विश्वास गर्छन् । त्यही भएर नयाँ चिजको खोजीमा उनले आफ्नो उम्मेदवारी दृढतापूर्वक प्रस्तुत गरेका हुन् । उनको हात समातेर अघि बढाउने मानिस भोटेकोसी माओवादीको संस्थापक आङ्छिरी शेर्पा हुन् । शेर्पा नैतिक र प्रतिष्ठाको जीवन्त लडाइँमा छन् । पार्टीको केन्द्रीय हैसियत बनाएका शेर्पालाई भोटेकोसी पार्टीले पालिका अध्यक्षका लागि एकल सिफारिस गरेको थियो । तर, पार्टीको बागमती प्रदेश कमिटीले निवर्तमान अध्यक्ष राजकुमार पौडेललाई दोहो¥याएर उम्मेदवार बनायो ।
पार्टी निर्णय अनपेक्षित भएपछि आङ्छिरी, पूर्वपालिका उपाध्यक्ष दाबुटी शेर्पा, भोटेकोसी पार्टी अध्यक्ष लाक्पा शेर्पा, नयाँ सोच राख्ने युवाहरु फुनु शेर्पा, निमासोना शेर्पालगायत झण्डै सय जनाले पार्टीबाट विद्रोह गरे । उनीहरुले सामुहिक राजीनामा दिएर पार्टीलाई दबाब दिएका छन् । एकल उम्मेदवारको सिफारिसमा परेका शेर्पा भन्छन्, ‘पार्टीले लिएको गलत निर्णयविरुद्ध हामी स्वस्थ विद्रोहमा छौं । हामीले पार्टीको नैतिक बल कायम राख्न दीपेन्द्रकुमार श्रेष्ठलाई स्वतन्त्रबाट उठाएका हौँ । ‘हाम्रो उम्मेदवारलाई जिताएर पार्टीको बैधानिक धार स्थापित गराउँछौं,’ उनले भने ।
श्रेष्ठका चुनावी आधार
स्वतन्त्र उम्मेदवार श्रेष्ठ दलभन्दा एक कदमअघि भोट माग्न गाउँ पुगेका छन् । दलका नेताको व्यवहारबाट वाक्क भएका जनता स्वतन्त्र उम्मेदवारबाट प्रभावित भएका छन् । गाउँमा श्रेष्ठलाई स्वागत गरिएको छ । माओवादीको पुरानो नेता भएकोले उनको परिचय सिंगो भोटेकोसीमा छ । तातोपानी निवासी श्रेष्ठले राजनीतिक पदमा नरहँदा पनि स्वास्थ्य, खेल र सामाजिक क्षेत्रमा प्रशस्त सहयोग र योगदान गरेकोले उनको नाम स्थानीयका लागि प्रिय छ ।
वडा नं. २ को अध्यक्ष रहँदा पनि तलबभत्ता नलिएर बरु सो रकमले स्वास्थ्य क्षेत्रमा उनले योगदान गरे । सुत्केरी महिलालाई पोषण भत्ता पाँच हजार दिने उनको अभियान देशभर प्रशंसनीय रह्यो । भोटेकोसीमा सबैभन्दा बढी मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनले समाज परिवर्तनको लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘मेरो उम्मेदवारी सिंगो पालिका र सिंगो माओवादीको नैतिक धरातल बचाउन हो,’ उनले भने, ‘पार्टीका शसक्त नेता आङ्छिरी, दाबुटी, लाक्पा, फुनु, निमा सबै एक भएका छौँ । मैले जित्नु सिंगो टिम जित्नु हो ।’
श्रेष्ठलाई उनका अभिभावक हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको दरिलो साथ छ । भोटेकोसीमा युवा वर्ग उनको चुनावी अभियानमा छन् । महिला, बृद्धबृद्धा दीपेन्द्रलाई भोट दिने कुरा गरिरहेका छन् । श्रेष्ठसँग सामाजिक परिवर्तन चाहने युवाको सशक्त टोली भएकोले चुनावी अभियान अरुकोभन्दा बेग्लै छ । पटकपटक दललाई रोज्यौं केही भएन, यसपटक बदल्नेलाई रोजौं भन्ने नाराका साथ अभियान चलाइएको छ । तीन दलका उम्मेदवार आन्तरिक तयारीमा रहँदा श्रेष्ठ भने गाउँ छिरेर स्थानीयसँग भलाकुसारी गरिरहेका छन् । माओवादी केन्द्रका पौडेल, एमालेका अमृतुकुमार खड्का र काँग्रेसका उम्मेदवार लामा नोर्बु पासाङजस्ता ठूला व्यापारीसँग युवा हस्ती श्रेष्ठ स्वतन्त्रबाट चुनावी मैदानमा उत्रेपछि भोटेकोसीवासी दोधारमा परेका छन् । दलका उम्मेदवार पौडेल, खड्का र लामा ठूला व्यापारी हुन् । तीन ठूला दलका धेरै नेता र कार्यकर्ताको भित्री समर्थन पनि उनलाई रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस