२३ चैत , इन्द्रावती
आज बिहानै ६ बजेतिर उठेर आफ्नो नियमित क्रियाकलापमा ब्यस्त हुने तरखरमा थिएँ । मेसेन्जरमा टिङ्ग मेसेज आयो । सम्माननिय सभामुख अग्नीप्रसाद सापकोटाका स्वकीय सचिव श्रीधर न्याैपाने ज्यूले सभामुख सापकोटा सिन्धुपाल्चोकका विभिन्न बिकास निर्माणका कार्यक्रमकाे अवलोकन र भेटघाटका लागि आउँदै हुनुहुन्छ भन्ने जानकारी पठाउनु भएको रहेछ । पहिला त खासै मतलब गरिनँ । पुर्णकालिन पत्रकारिता पेसामा संलग्न नभए पनि पुराना याद र मायाले अलि अलि पत्रकारिता प्रति आस्थावान र स सानाे सञ्चार माध्यमकाे सञ्चालक भएको नाताले आम मानिसलाई सुसूचित गर्नुपर्छ भन्ने लागेर “सभामुख सापकोटा आज सिन्धुपाल्चोक आउदै ” शिर्षकमा समाचार अपडेट गरेँ ।
करिब आधा घण्टा पछि सिन्धुपाल्चोकका आदरणीय पत्रकार रामकृष्ण थापाले फाेन गर्नुभयो । सुदर्शन आचार्य दाइको घर कति नम्बर वडा हाे सर ? भनेर साेध्नु भाे । मैले १० नम्बर वडा साविक भाेटसिपा भन्ने जवाफ फर्काएँ । दाइले त काठमाडौकाे स्थायी बासिन्दा भएको र सिन्धुपाल्चोक छाेडेकाे भनेर फेसबुक स्टाटस लेख्नुभएको रहेछ , शायद उहाँको जिल्ला राजनीतिसंग केही गुनासा रहेको कारण पनि हुनसक्छ । यसाे अलिकति अध्ययन गरेर एउटा न्युज बनाउँछु भन्नुभयो मैले हुन्छ दाइ भनें । एक मन त लाग्यो एकजना कलमजीविले बसाइँ सरेको कुरा के न्युज बनाउने भनेको हाेला रामकृष्ण दाजुले जस्तो लाग्यो । २०/२५ मिनेट पछि रामकृष्ण दाइले न्युज इमेल गर्नुभयो । न्युज हेरेपछि राजनीति पनि जाेडिएकाे रहेछ अपडेट गरुँ जस्तो लाग्यो र “पत्रकार आचार्यले छाडे सिन्धुपाल्चोक ” शिर्षकमा न्युज अपडेट गरेँ । उल्लेखित दुबै समाचारलाई तत् तत् समयमै करिब एक घण्टाकाे फरकमा आफ्नो फेसबुक वालमा शेयर गरेँ ।
दिनभर जस्तो आफ्नै सामाजिक , राजनीतिक र अफिसयल काममा ब्यस्त भइयाे । बेलुकी ७ बजेतिर अर्थात १२ घण्टा पछि घरमा आएर माेवाइलमा नजर दाैडाउँदा फेसबुकमा कतिपय साथीहरूका रमाइला , ठट्यौली र घाेचपेच टाइपका टिप्पणीहरु आएका रहेछन् । दुवै न्युज खाेलेर हेरेँ । सभामुखकाे न्युज भर्खर ६० शेयर पुग्दै रहेछ तर सुदर्शन दाइले सिन्धुपाल्चोक छाडेको न्युजकाे शेयर सवा चार सय नाघिसकेको रहेछ । म एकछिन घाेत्लिएँ । हाम्रा पाठक कस्तो समाचारकाे खाेजीमा छन ? कुन समाचारलाई कस्तो रेस्पाेन्स गर्छन ? खासमा हाम्रो समाज र हामीले चाहेको के हाे ? के दाेष नेतृत्वमा रहनेकाे मात्रै हाे ? याे देशको आजको अवस्थाका लागि हामी नागरिक भनिनेहरुकाे भुमिका सन्तोषजनक छ ?
फेरि आजभन्दा झण्डै ५ बर्ष अगाडिको घटनाक्रम मेराे मानस्पटलमा ताजा बनेर आयाे । करिब २०५८ सालदेखि कुनै दलको सदस्यता लिएको र नवीकरण गरेको थिइनँ । कुनै राजनीतिक दलमा सामान्य नैतिक समर्थन गरेर सामाजिक भुमिका मै क्रियाशील थिएँ । २०६७/६८ देखि आन्तरिकरुपमा सामान्य क्रियाशीलता र आस्था राखेको थिएँ । २०७४ सालकाे स्थानीय तह निर्वाचनको एकाध महिना पहिला एकाएक वडा अध्यक्षकाे उम्मेदवारकाे प्रस्ताव आयो । बिचार गराैला भनें । घर सल्लाह भयो । यसाे वडा भरिकाे मतको हिसाबकिताब गरियो । आफुले आफैलाई मनमनै परिचय गराएँ । ब्यबस्थापन संकायमा स्नातक र शिक्षा शास्त्र संकायमा मास्टर डिग्री गरेको केटाे । बाेर्डिङ स्कुलकाे प्रिन्सिपल । याे आठ नाै बर्षकाे अवधिमा थुप्रै गरिब दुखि, दलितका छाेराछाेरीलाई सित्तैमा पनि गुणस्तरीय शिक्षा दिएको छु । १३ / १४ बर्षदेखि निरन्तर बित्तिय सेवामा संलग्न भएर थुप्रै मान्छेका छाेराछाेरीका बिहे ब्रतबन्ध, पास्नी , छेवार र घेवामा गाैडाे टार्न सहयोग गरेको छु । उद्यमशील बन्न प्रेरित गरेको छु । आँटनुस म छु भनेको छु । अरु गाउँ छाडेर शहर र शहर छाडेर बिदेश दाैडेका छन आफू भने आफ्नो काठमाडौकाे स्थायी जागिर हापेर , काठमाडौकाे जग्गा बेचेर गाउँ भासिएकाे छु । श्रीमतीजी हरदिन गाउँकै सेवामा छिन । मध्यरातमा पनि बुढाबुढी दुवैजना गाउँघरका झैझगडा मिलाउन दाैडेका छाै । म संग याेजना छ । भिजन छ । फेरि म एक्लै पनि त छैन पुरै पार्टी म संग छ । अब यत्ति हुँदा पनि मैले चुनाव नजिते कसले जित्छ त याे चुनाव ??? मन ढुक्क भाे । चुनाव जितिन्छ । ३/४ लाख ऋणको जाेहाे गरेर मैदानमा खडा भइयो । शायद प्राय वडाहरुले वडाकै प्रतिबद्धता पत्र तयार पारेका थिएनन् हाेला । हामीले त्याे पनि तयार बनायाैं । आफुसंग भएको बिद्वता उजिल्यायाैं । लामो भाषण लेखेनाैं । टु दि प्वाइन्ट १,२,३ गरेर पाँच बर्षमा हामीले गर्ने कामकाे खाका तयार बनायाै र हाेमियाैं ।
चुनाव आयाे । मतदान भाे अनि परिणाम के भाे थाहा छ ??? हामी त तेस्रो भयाै । त्यसपछि बल्ल राजनीति बुझियाे हामी नागरिक सुध्रिएका रहेनछाै । आजकल कतिपय युवा साथीहरू फेसबुक लगायतका सामाजिक सञ्जालमा नेता बिग्रिए , देश बिगारे भनेर खुब फलाक्छन अनि यति रिस उठ्छ नि ती युवा भनिने ठेउका संग , नजिकै भए टाउको फुटाइदिँउ झै लाग्छ । चाहे पार्टीमा हाेस वा चुनावमा सहि नेता छानाैन देश बिग्रन्छ ? पार्टीमा पनि हनुमान , चुनावमा पनि हनुमान बनेर असल नेता पाइन्छ ? फर्सी राेपेर काँक्राेकाे आशा गरेर हुन्छ ??? त्यसैले मलाई लाग्छ हामी कार्यकर्ता र नागरिक पहिला सुध्रन जरुरी छ तब मात्र नेता र देश सुध्रन्छ ।।।।
प्रतिक्रिया दिनुहोस