०७७ साउन ३० गते पहिरोमा पुरिएर ज्यान गुमाएका घरका सदस्य सम्झँदै जुगल गाउँपालिका वडा नं. २ लिदीका निमाछिरिङ र इन्द्र दोङ बाँसखर्कमा बसेको डेढ वर्ष बित्यो ।
परिवार गुमाउँदाको पीडा जति भयो, त्योभन्दा बढी पहिरोपछि जन्मभूमि छोडेर अन्यत्र जानुपर्दाको पीडाले दोङद्वयलाई सताइरहेको छ । तर, बिकल्प पनि छैन । भूगर्भविद्ले भनेका छन्, पहरोमाथि बसेको लिदी माथिबाट बग्ने पहिरोले जोखिममा छ । त्यसैले, लिदीका स्थानीय अधिकांशले निर्णय गरेका छन्, हिउँद लागेपछि खेती गर्न गाउँ जाने अनि बर्खामा बाँसखर्क आएर ज्यान जोगाउने ।
लिदीमा आलु, मकै, कोदो र गहुँ उत्पादन राम्रो हुन्छ । पशुपालनबाट स्थानीयले मनग्ये आम्दानी गर्छन् । पाँचपोखरी पुगेर यार्सागुम्बा टिप्ने र अन्य जडीबुटी संकलन गरेर पनि थप आम्दानी गर्छन् । बाँसखर्कमा बनेको नयाँ घर बासमात्रै हो । त्यसैले अधिकांश लिदीवासीले बर्खाभर ज्यान जोगाउनमात्रै बाँसखर्कको पक्की घर प्रयोग गर्ने सोचेका छन् ।
पहिरो पन्छाउँदै उनीहरुले लिदीमा पशुपालनका लागि गोठ र आफू बस्ने अस्थायी घर निर्माण गरेका छन् । लिदीमा आठसम्म पढ्ने विद्यालय छ । पहिरोपछि पनि स्थानीय बालबालिका गाउँमै पढ्छन् । आठ पास गरेका विद्यार्थीलाई बाँसखर्क बसेर सेलाङ वा स्याउलेमा पढ्न सहज हुन्छ । बिगतमा लिदीका बालबालिका आठ पास भएपछि विद्यालय पुग्न टाढा भएकोले अधिकांशले पढाइ छोड्थे ।
पहिरोले विस्थापित लिदीवासी दुई सय नौ घर हुन् । कादुरी नामक संस्थाले बाँसखर्कमा ६८ घर तयार पारेको छ । पहिरोले घरजग्गा पुरेर बिचल्लीमा परेकालाई यी घरमा राखिने तयारी अन्तिम चरणमा पुगेको छ । डेढ वर्षपछि पक्की घरमा बस्नपाउने भएकोमा पहिरोपीडित उत्साही छन् । परिवार सबै गुमाएका दोङद्वय भन्छन्, ‘परिवार गुमेपनि नयाँ बास पाउँदा खुसी छौँ ।’ पहिरोपीडितले नयाँ घर बनाउँदा दैनिक रोजगारी पनि पाएका छन् । कादुरीले यी घर बनाउन ६ करोडभन्दा बढी रकम खर्च गरेको वडाध्यक्ष प्रताप लामाले बताए । ‘स्वावलम्वन संस्थाले ४० घर बनाउने सम्झौता गरेर डिपीआर गरिसकेको छ,’ उनले भने । । पहिरो गएदेखि हालसम्म फिल्डमा खटिरहेका लामाले भने, ‘एकसय आठ घर संघसंस्थाले बनाइदिन्छन् बाँकी सरकारले जिम्मा लिन्छ ।’ जग्गा किन्न तीन लाख र घर बनाउन पाँच लाख गरी प्रत्येक विस्थापित घरपरिवारलाई आठ लाखको दरले रकम दिने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले प्रष्ट्याए । विस्थापितलाई रकम उपलब्ध गराउन जुगल सरकारले धमाधम फर्म भरेर विवरण तयार पारिरहेको छ । कागजात मिलाउन समय लागेकोले सरकारी रकम आउन ढिला भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस