नयाँपानीखबर, बाह्रबिसे
राजनीति र सामाजिक कामलाई मानिसले फरकफरक रुपमा बुझ्छन् । तर, यी दुई पक्ष मानव सभ्यताको कसीमा एकै हुन् । समाजसेवा गर्नु भनेकै राजनीति हो । हाम्रो मुलुकको राजनीति केही बिग्रिएकोले समाजमा यसप्रति निन्दा गरिँदै आएको छ । यद्यपि, राजनीति सेवाबाहेक अरु केही होइन ।
राजनीति र सामाजिक क्षेत्रलाई एकसाथ जोडेर उदाहरण प्रस्तुत गर्ने मानिस टाढा खोज्नुजानै पर्दैन । काम गरे के हुँदैन भन्ने उदाहरण भोटेकोसी गाउँपालिका– ५, निवासी युवा पासाङ नोर्बु लामाले प्रस्तुत गरेका छन् । पासाङ नोर्बु लामा साधारण किसानका छोरा हुन् । २०५६ देखि २०६४ सम्म उनी १० वर्षे जनयुद्धमा सामेल भए । शान्ति प्रक्रियापछि उनले विभिन्न व्यवसाय सुरु गरे । ०६५ बाट लामा नेपाली काँग्रेसमा आबद्ध भएर काम गर्न थाले । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सिन्धुपाल्चोबाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि र हालै सम्पन्न जिल्ला अधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएका छन् । ‘सामाजिक सेवा र राजनीति एकापसमा जोडिएको हुन्छ,’ लामाले भने, ‘अन्ततः जे गरे पनि समाजका लागि काम गर्नुपर्छ ।’
प्राकृतिक विपत्ति र मानवीय कार्यमा उनले आजसम्म लाखौं रुपैयाँ खर्चिसकेका छन् । आफ्नो व्यवसायबाट आर्जन गरेको निजी रकम खर्चेर उनले खाद्यान्न, स्वास्थ्य सामग्री, विद्यार्थीलाई छात्रवृत्ति, विभिन्न रोगबाट पीडितको उपचार गर्ने गरेका छन् । बाढीपहिरो जाँदा उनले निजी रकमले हेलिकोप्टर चार्टर गरेर धेरैको उद्धार गरेका छन् । दैनिक पाँच हेलिकोप्टरसम्म चार्टर गरेर मानिसको ज्यान बचाएको उनको अनुभव छ । ‘सानैदेखि दुःखमा साथ दिने स्वभावको थिएँ,’ उनले भने । ०७१ साउन १७ गते जुरेमा पहिरो गयो । त्यतिबेला पनि उनले मानवीय सहयोग गरे । त्यसपछि उनको सामाजिक र मानवीय सेवाको काम सुरु भयो ०७२ वैशाख १२ को महाभूकम्पपछि ।
भूकम्पको बेला लामाले सिन्धुपाल्चोकको भोटेकोसी र बाह्रबिसे क्षेत्रमा खाद्यान्न सहयोग गरे । कोरोना महाव्याधीको समयमा भएको लकडाउनमा उसैगरी धेरै विपन्नलाई घरघरमा खाद्यान्न पु¥याए । बाह्रबिसेको जम्बु, नागपुजे, भोटेकोसी, जुगलको लिदी र मेलम्चीमा आएको बाढीपहिरोको विपत्तिमा लामा निकै सक्रिय भएर उद्धार र राहतमा खटिएका थिए । भोटेकोसी बाढीपहिरोमा परेर घाइते भएकालाई काठमाडौको ह्याम्स अस्पताल लगेर सात लाख खर्च गरेर बचाए । घाइतेलाई हेलिकोप्टरमा उद्धार गरे । यतिमात्रै होइन लामाले क्यान्सर, मृगौला र दीर्घरोगी दर्जनौंलाई आर्थिक सहयोग गरेका छन् । लामाले निजी खर्चमा लिस्तीको साबुखानी र गोल्चीमा मोटरबाटो निर्माण गरे । उनले दोस्रो लकडाउनका बेला देशैभर स्वास्थ्य र खाद्यान्न सहयोग गरे । उनी न्यानोपन नेपाल संस्थाका महासचिव पनि हुन् । क्याप्टेन विजय लामा र उनको संयुक्त प्रयासमा थुप्रै मानवीय सहायताका काम सम्पन्न भएका छन् । मानिस यस्तै काम गरेर लोकप्रिय हुने हो । ‘मैले थुप्रै काम गरेको छु तर प्रचारमा आउन चाहिन । मुख्य कुरा काम गर्ने हो,’ उनले भने । समाजमा लामाजस्तै थुप्रै पात्र छन् । यस्ता पात्रलाई समाजले राजनीतिमा स्पेश दिए केही हुनसक्छ । राजनीतिलाई सेवामुलक बनाउन र सामाजिक कामलाई पारदर्शी बनाउन सबैले मिलेर काम गर्नुपर्ने उनको धारणा छ ।
प्रतिक्रिया दिनुहोस