१७ भदौ
बाह्रबिसे ।
नेकपा एमाले बाह्रविसेमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । यही विवादका कारण आज दुई पक्षले छुट्टाछुट्टै भेला आयोजना गरी नेकपा एमाले बाह्रविसेमा समानान्तर कमिटी समेत बनाएको छ । मंगलबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो ।
जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ सहभागी कार्यक्रमबाट बमबहादुर तामाङको नेतृत्वमा एउटा कमिटी बनाइएको छ, भने उपाध्यक्ष अर्जुन भण्डारीसहितका पदाधिकारीको भेलाले माधव नेपालको नेतृत्वमा अर्को समिति घोषणा गरेको छ ।
मंगलबार जिल्ला इञ्चार्ज सरेश नेपालको निर्देशनमा जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ सहभागी भएर बन्द सत्रको कार्यक्रम बाह्रविसेको ग्राण्ड रिसोर्टमा भएको थियो ।
त्यस्तै बागमतीका सदस्य एवं बाह्रविसेका इञ्चार्ज निमफुञ्जो शेर्पासहित, जिल्ला उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ र उपसचिवद्धय शिवहरी सापकोटा र सुशिला पाख्रिनसमेतको उपस्थितिमा अर्को पक्षको भेला भएको थियो ।
जिल्ला अध्यक्ष सहभागी भएको बन्द सत्रबाट अध्यक्षमा बमबहादुर तामाङ, उपाध्यक्ष कल्याणी घिसीङ, सचिव शीतल मोक्तानसहित ४२ सदस्य कमिटी गठन भएको घोषणा गरिएको छ ।
उता उपाध्यक्ष अर्जुन भण्डारीसहितको टोलीले भने अध्यक्ष माधव नेपाल, उपाध्यक्ष विक्रम श्रेष्ठ, सचिव ङिमा शेर्पा, उप–सचिवहरु आशिष दाहाल र बिनु तामाङसहित ३९ सदस्य कमिटी घोषणा गरिएको छ ।
दुवै पक्षबीच लामो समयदेखि देखिएको असहमति आज छुट्टाछुट्टै कार्यक्रममार्फत सतहमा आएको हो ।
सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनसम्ममा बाह्रविसेको संगठित सदस्यको संख्या ७६६ थियो । तर, अधिवेशनपछि सदस्य संख्या एकैपटक १३ सय बढी पुगेपछि यहाँ विवाद बढेको थियो ।

प्रतिक्रिया दिनुहोस