१० असार २०८१
नवलपुर, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ कराेड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये पुर्वाधार तर्फकाे एकमुष्ठ १० कराेड ३३ लाख बजेटको याेजना तर्जुमा र विनियोजन भने केही समयपछि बस्ने गाउँसभाले पारित गर्नेछ ।
साेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शाेभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ कराेड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० कराेड ४६ लाख ९४ हजार ६ सय ९७ रूपैयाँ, बागमती प्रदेश सरकार बाट ९ कराेड ४७ लाख ५८ हजार १ सय ५० रूपैयाँ गरि जम्मा ८३ कराेड ५० लाख आम्दानी हुने अनुमान गरिएकाे छ ।
त्यसैगरी खर्चमा चालु तर्फ १३ कराेड ५८ लाख ५० हजार, वडा कार्यालयहरूकाे तर्फबाट पेश गर्ने याेजनाहरूकाे ७ कराेड ४० लाख, विपद व्यवस्थापन लगाएतका अन्य विभिन्न काेषहरूकाे लागि २ कराेड, हेफरसंगकाे साझेदारीकाे लागि १ कराेड, झाेलुङ्गे पुल लगायतका अन्य साझेदारीकाे लागि ७० लाख बिनियाेजन गरिएकाे छ ।
उपाध्यक्षसंग समृद्वि कार्यक्रमकाे लागि ३० लाख, लघु उद्यमीलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउनकाे लागि जमानत बापत १ कराेड, २ वटा अस्पताल सञ्चालन व्यवस्थापन अनुदानकाे लागि ८० लाख, दायित्व भुक्तानीकाे लागि २ कराेड ५० लाख, बिषयगत शाखा तथा अन्य याेजनाहरूकाे लागि ९ कराेड ३ लाख ७२ हजार र विभिन्न पुर्वाधार लगायतका कार्यक्रमका लागि १० कराेड ३३ हजार सार्वजनिक गरिएकाे छ ।
संघिय समपुरक याेजनाका लागि ३ कराेड, विशेष याेजनाका लागि ९५ लाख, ससर्त याेजनाहरूका लागि २५ कराेड २८ लाख, त्यस्तै बागमती प्रदेश समपुरक याेजनाहरूका लागि ४ कराेड, विशेष याेजनाका लागि ८० लाख र ससर्त याेजनाका लागि २ कराेड २४ लाख ४५ हजार गरि जम्मा ८३ कराेड ५० लाख रूपैयाँ कुल खर्च सहित अनुमानित बजेट पेस गरिएकाे छ ।
गाउँसभा बाट विभिन्न विद्येयकहरू पारित –
साेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालद्वारा कार्यसूचीमा राखिएका विभिन्न विद्येयकहरू पारित भएका छन । सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य द्वारा प्रस्तुत आर्थिक बर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम, गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ द्वारा प्रस्तुत आर्थिक विधेयक २०८१, विनियाेजन विधेयक २०८१ सर्वसहमतीले पारित भएकाे हाे ।
त्यस्तै न्यायीक समिति सदस्य क्षेत्र तामाङ द्वारा प्रस्तुत न्यायिक समीतिकाे ८०/८१ काे बार्षिक प्रतिवेदन, सामाजिक बिकास समिति संयाेजक रविन्द्र कुमार खाती द्वारा प्रस्तुत राजश्व परामर्श समितिकाे प्रतिवेदन २०८०/०८१ सर्वसम्मतीले पारित भएकाे छ ।
गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय र विद्यार्थी पुरस्कृत –
गाउँसभाकै अवसरमा इन्द्रावती भित्रका सामुदायिक विद्यालय मध्ये उत्कृष्ट कार्यसम्पादन र सिकाइ उपलब्धि हासिल गर्ने एक माध्यमिक र एक आधारभूत विद्यालयलाई क्रमशः २ लाख र १ लाख नगद सहित सम्मानित गरिएको छ ।
यसरी सम्मानित र पुरस्कृत हुनेमा वडा नं ६ स्थित कमलादेवी माध्यमिक विद्यालय र वडा नं ३ स्थित सुर्यकिरण आधारभूत विद्यालय रहेका छन् ।
त्यस्तै शैक्षिकसत्र २०८० काे आधारभूत तहकाे कक्षा ८ मा इन्द्रावती गाउँपालिका भित्र छात्र र छात्रा दुवै तर्फ प्रथम हुन सफल वडा नं ७ स्थित राजेश्वरी माध्यमिक विद्यालयका छात्र छात्राहरु समेत जनही २५ हजार नगद सहित पुरस्कृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस