५७ सालमा म पढिरहेको तत्कालिन गोल्डेन बोर्डिङ बन्द भयो । बुर्जुवा शिक्षा भन्दै, पुँजीपतिले पढ्ने बोर्डिङ भन्दै, चन्दा देउ भन्दै, सरहरुको कठालो समात्दै, मिसहरुको स्तनतिर घुर्दै अन्तत: एकदिन म पढिरहेको बोर्डिङ बन्दै भो । अथवा भनौं, हाम्रो भबिष्यको ढोका बन्द भयो अनि प्रचण्ड र बाबुरामहरुको भबिष्यको ढोका खुल्यो ।
दुई चार महिना गाउँतिर बराल्लिएपछी ‘अब यस्तै हो भने यो केटो बिग्रन्छ’ भन्ने निर्क्योल निकाले बुबा मुमाले । सुध्रन त म अहिले पनि सकेको छैन । तर अहिले अब यो बिग्रीन्छ भन्ने भय कसैलाई छैन । किनकी म बिग्रनपर्नेजती हद पार गरेर बिग्रीसकेको छु । र एकदिन मलाई गोरुसिङ्गे चौरको स्कुलमा कक्षा चारमा भर्ना गरियो । जुन स्कुलको ‘पाले’ ( त्यो मितिमा कार्यालय सहयोगी वा पियन भन्ने शब्द निस्किसकेको थिएन ) तपाई हुनुहुन्थ्यो, यधपी हुनुहुन्छ । मलाई जानकारि भएसम्म यो तपाईहरुको पुर्ख्यौली पेशा रहेछ ।
मलाई सम्झना छ बोर्ङिङ स्कुलबाट चौरको ( सरकारी ) स्कुलमा भर्ना भएको दोश्रो वा तेस्रो दिन मलाई कसैले कक्षामै बोलाउन आयो र सरासर लिएर गयो कक्षा सात भित्र । भित्र पस्नसाथ कक्षा एकाएक सुनसान बन्यो । आँधीपछीको सडकजस्तो । युवाहरु पलायन भएपछीको गाउँजस्तो । कक्षा भित्र ३५-४० बिधार्थीहरु थिए तर ति सबै उभ्भिएका थिए । ति निर्दोष बिधार्थीहरुलाई उनिहरुको ह्याउँभन्दा औं ठुलो, पढिरहेकोभन्दा फरक, सोचिरहेको भन्दा गम्भिर एउटा प्रश्न सोधिएको थियो जसको जवाफ दिन नसक्दा सबैलाई उभ्याईएको थियो । उनिहरु सजायको रुपमा आउने सम्भावित खतराहरु सम्झेर होला राता पिरा देखिएका थिए । सबैजना घोसेमुन्टो लाएर उभ्भिएका थिए । अनि अघिल्लो बेन्चमा बिराजमान थिए यामानको भुँड्यौली हेमान सर । हेमान सर जत्रो भुँडी भएको मान्छे मैले त्यस अघि कहिल्यै देखेको थिईँन । कुनै औपचारिकता वा भुमिका नबाँधिकन हेमान सरले मलाई सोधे – ‘Living things भनेको के हो ?’ टाउको नचिलाएपनि टाउको कन्याउँदै भने – ‘सजिव बस्तु सर ।’ जस्तै ?
‘जस्तै
रुख,
मान्छे,
कुकुर etc. ‘
मैले etc भन्नसाथ सब गल्ल्लल हाँसे । मानौं मैले मान्छेको अगि बोल्नै नहुने उल्का अश्लिल शब्द बोले । छोरीमान्छेको अघि मनपरी भने ।
हेमान सरले बेन्चमा डस्टर पछारे । सब चुप । ‘अनि, Non-living things भनेको के हो ?’
‘निर्जिव बस्तु सर ।’
‘जस्तै’
हेमान सरले बेन्चमा बजारेको डस्टर देखाउँदै – ‘डस्टर, ब्ल्याकबोर्ड, साईकल etc । फेरि कक्षामा हाँसो फैलियो । तर पहिला जस्तो सबै हाँसेनन । आधा उधि । अगि मलाई चारकक्षामा बोलाउन आउने होचो होचो कदको मान्छेलाई हेमान सरले हुकुम गर्नुभो – ‘जा जा लट्टे अपिसमा गएर एउटा गतिलो पाईपको लौरो लेर आ । ‘ बल्ल मैले था पाएँ यिनको नाम ‘लट्टे’ रहेछ भन्ने । तुरुन्तै लट्टे दाईले लौरो लेर आए । हेमान सरले सबलाई हात थाप्न लगाएर मलाई कुट्न अह्राउनुभो । मैले सकिन । हेमान सर भन्नुहुन्थ्यो – ‘अलि बेस्मार हान् ।’ तर म आफैं कांपिरहेको थिएँ । ‘तं कक्षामा जा ।’ मलाई पठाएर हेमान सर आफै कुट्न थाल्नुभो । म निस्किएँ । बाहिर आएपछी मलाई लट्टे दाईले सोध्नु भो – ‘ तं पारिस्वारा सिरामको छोरो हो कान्छा ?’ मेरो पारो तात्यो । हाम्रो बुबाको नाम श्रीराम हो । तर गाउँका सबले ‘सिराम’ भन्थे । बाउको नाम भनेको त्यहि पनि गलत मलाई मनै पर्थेन । त्यो ताका कसैले कसैको बाउको नाम काट्यो भने हामी केट्केटिहरु मर्न मार्न तयार हुन्थ्यौं । त्यो बेलामा झगडा वा कलहको बिउ एउटै केवल एउटै हुन्थ्यो । ‘सर यस्ले हाम्रो बुबाको नाम काड्यो ।’ म केहि नबोली कुद्दै कक्षातिर गएँ । अहिले पनि म कसैसँग अचाक्ले रिस उठ्यो भने केहि पनि नबोली हिन्दिछु । एकचोटी देशसँग पनि रिस उठ्यो अनि खाडी हिन्दिएँ । त्यतिबेला माओवादिको त्रासले गर्दा बोर्डिङ स्कुलहरु बन्द नभएको भए म यो तात्तो न छारोको चिर्कटो युरोप वा अमेरिकाको कुनै सिटिबाट लेखिरहेको हुन्थ्यो हुँला यधपी, यसमा मलाई कुनै गुनासो छैन । एउटै मन थियो धेरै पटक जित्यौ प्रचण्ड !
‘लट्टे दाई’ सँग बिताएका अनेक रमाईला पल र जोडिएका किस्साहरु छन् । अचेल मलाई मात्तिएर लाईलोट भएर त्यहि केटौली दिनहरुतिर फर्कन मनलाग्छ । जीन्दगीमा ब्याक गियर हुँदो हो भने म अहिलेनै लट्टे दाईको पसलमा आईपुग्दो हुँ । र भन्दो हुँ – ‘एउटा फुल र एक पिलेट तरकारी लेउ लेउ । ‘ त्यो बेला यो ‘क्यान्टिन’ भन्ने शब्द मार्केटमा आईसकेको थिएन । त्यसैले लट्टे दाईको ‘पसल’ थियो । उनि स्कुलको पियन भएपनि स्कुलको एकातिरको खाली कक्षामा कुचुक्क परेको पसल थियो । बिहान १० बजे घण्टी लाग्नुभन्दा पहिले उनि मालपुवा, पाप्री, ( पापड ) ढुङ्ग्रो, अण्डा, केराउ चनाको तरकारी लगायतको खानेकुरो पकाएर ठिक्क पार्थे र १ बजे हाफ टाईममा बेच्थे । यसबाहेकका रेडिमेड आईटममा लामो थिन आरारोट बिस्कुट, डुब्लिकेट नट्राज दालमोठ, हुर्रे चाउचाउ, अरेन्जबल चक्लेट ( ल्याक्टो महङ्गो थ्यो । त्यसकारण कैलेकाहि मात्र हुन्थ्यो ) लगायतका खित्रीङ्मित्रीङ खान्कि बेच्थे ।
त्यहि पसल पनि कैले कता सार्थे, कैले कता सार्थे । स्कुलमा कक्षाकोठा सारिरहेको हुन्थ्यो । हेडसरको मुड अनुशार वा कोठाको उपलब्धतानुशार उनको पसल पनि सरिरहन्थ्यो । कहिले तिन कक्षाको उतापटि, कहिले ५ कक्षाको यतापटि । कहिले अफिसको छेउतिर, कहिले नारायण काकाको बारीतिर । यसको अलवा कैलेकाँहि घरमा ‘लट्टिनी भाउजू’ सँग ठाकठाक् ठुकठुक् पर्दा पनि उनको पसल यता उता सर्थ्यो । अधिकांश तन्नेरीको जस्तो उनको पहिलो प्रेम चिलिम फर्किएको थियो । प्रेमबिना मान्छेको जीवन मर्चा बिनाको जाँड जस्तो हुनेरहेछ । प्रेम बियोगको दुई चार महिनापछी उनले दोश्रो घरजम गरे । एउटा फूल झर्यो भनेर मान्छेले करेसो बाँझो राख्दैन नि । हामी स्कुलेहरु उनको जाहनलाई ‘लट्टिनी भाउजू’ भन्थ्यौं । भन्न त खासमा लट्टे दाईको बुढी भएकाले ‘लट्टीनी भाउजू’ भनिएको थियो । तर उनि खासमै हाँस्दा हाँस्दै यति धेरै लट्टिन्थिन् कि सानो सामान्य कुरामा नि हाँसेरै मुर्छा पर्थिन् । एकदिन लट्टे दाईको पसलमा एकाएक भर्खर भर्खर चल्तिमा आएको ‘वाक मेन’ झुण्डिएको देखा पर्यो । मलाई सम्झना भएसम्म त्यसको दाम त्यतिबेला ५०-६० रुपैयाँ पर्थ्यो । घरबाट बस्तुभाउ गरेर दाईलाई सघाउन पसलमा आएकी भाउजुले एक्कासी त्यो जिनिस देखेपछी सुम्सुम्याँउदै एकै सासमा भनिनि् – ‘हैन यो याच्बिन हैन बुढा ?’ हामी बुङ्गाहरूलाई के निहुँ चाहियोस – धनेले खाँदा खाँदैको पानी सर्कायो, जितेको नाकमा चनाको गेडो अट्कियो, डम्बरे र माईलोको मुखबाट मालपुवा उछिट्टिएर अघिल्तिर पुग्यो । अनि हामीसँगै लट्टिनि भाउजू हाँस्दा हाँस्दै कायल भईन् ।
हाम्रो ग्याङ्गमा हमेसा साथ दिने केटाहरु थिए डम्बरे, माईलो, धने, भुपेन्द्र, चेते, दिपक, सुबास लगायत । पछी ६ कक्षमा पुगेपछी जिते, सुजन, पुर्णे, सन्तोषहरु थपिए । ५ कक्षासम्म प्राथामिक स्कुलमा पढेपछी ६ कक्षा पढ्न तल्ला गाउँतिरबाट आएका थिए उनिहरु । खाजा खाने एउटै ठाउँ थियो लट्टे दाईको पसल । छन त पछि फर्सिको पसल ( प्रिय राजकुमार दाई ), किस्नेको पसल ( आदरणीय कृष्ण काका ) हरिचन्द्रेको पसल ( हरिचन्द्र दाईको जाहानले चलाएको ) पनि थ्यो । तर ति स्कुल प्राङ्गणभन्दा बाहिर थिए । र त्यता उधारो पाईने सम्भावना कम थियो । त्यहि भएर हामी प्राय लट्टे दाईकोमा नै जान्थ्यौं । किनकी हाम्रो त्यहाँ उधारो खाता थियो । कैलेकाहि लट्टे दाई च्याँठ्ठिन्थे – ‘जाँठाहरु पैसा हुँदा फर्सिको पसलमा जान्छौं उधारो खान चैं यहाँ ।’ केईपनी छैन जाओ । तर, मलाई भने केहि भन्न सक्दैन थे । किनकी म ‘पारिस्वाँरा सिरामको छोरो’ थिएँ । सिरामको सदरमुकाम जाने बाटैमा घर थियो, पसल थियो । पसल उल्का चलेको थियो । सिरामको पसल भनेर नचिन्ने कमै मान्छे थिए तिनताका । चार चौरास कहलिएको पसलेको छोरोलाई नाथे ५-७ रुपैयाँ उधारो नपत्याउँने ? मेरो शान सौंख यस्तै थियो । अरुलाई खाजा खाईसकेपछी ‘ल घण्टी लाग्ने ट्याम भो जाओ जाओ’ भन्दै भगाउन खोज्थे लट्टे दाई । तर म र मेरो आसपासका केटाहरुलाई कहिल्यै नाई नास्ति गरेनन् मानौ म सिरामको छोरो हैन बिनोद चौधरीको छोरो हुँ, रतन टाटाको छोरो हुँ अथवा, बिल गेट्सको छोरो हुँ । प्रिय लट्टे दाई तपाईलाई धन्यवाद तपाईले मलाई २-५ रुपैयाँ पत्याईदिएर ममा हिम्मत बढ्यो । अहिले मलाई अर्बै रुपैयाँ सेयर पुँजी भएको अन्तराष्ट्रिय कम्पनिले पत्याएर करोडौं रुपैयाँमा खेल्न पाउने जिम्मेवारी दिएको छ ।
कापीको खिल पानामा उधारोको विवरण लेखिएको हुन्थ्यो र जतनले थोत्रो कन्तुर भित्र राखिएको हुन्थ्यो । उधारो खाएको कोहि लामो समय स्कुल आएन भने हामीलाई त्यो कां गो का गो भनेर हैरान पार्थे । तर, मलाई सम्झना भएसम्म उनले मलाई ‘तेरो उधारो यति भैसक्यो खै ले’ भनेर कैले मागेनन् । मसँग पैसा नहुने भनेको दुर्लभ कुरा थियो । किनकी मैले सिरामको पसलबाट पैसा नचोर्ने भनेको पनि दुर्लभ कुरा थियो !
पसलको धन्दामा भुलेर कहिलेकाँहि लट्टेदाई घण्टि बजाउँनै बिर्सन्थे । पितम सर हेड सर हुँदा घण्टी काण्डमा उनलाई धेरै पटक झपारेको मैले देखेको छु । कहिलेकाँहि हामी छुल्याह केटाहरु त्यो घण्टी बजाउने काठको बिँड हालिएको सानो आकारको हम्मर लुकाईदिन्थ्यौं । खासगरी पितम सरको पिरियडमा हामी हम्मर लुकाईदिन्थ्यौं । किनकी पितम सर त्यतिबेला केवल हेड मास्टर मात्र थिएनन हामी केटाकेटीहरुको लागी ‘गब्बर सिं’ पो थिए त । लट्टे दाईले घण्टी बजाउने हम्मर खोज्दा खोज्दै एक पिरियडनै बिथ्यो । तर, घण्टी नबजाएपनि पितम सर त पढाउन आई नै हाल्थे । आजकल पनि मलाई कैलेकाँहि घडी लुकाईदिन मनलाग्छ, क्यालेण्डर लुकाईदिन मनलाग्छ तर आउनपर्ने हर भबितब्यहरु आईरहेकै छन् / गैरहेकै छन् । घडी लुकाउदैमा समय थोडी लुक्छ ! नन्सेन्स् ब्वाई !
बधाई छ ‘लट्टे’ दाई । हामी केट्केटी हुँदा तपाईको नाम पूर्ण बहादुर भूजेल हो भनेर कहिल्यै थाह पाएनौं । ओर्के लट्टे दाई, फर्के लट्टे दाई । स्कूलको धारामा पानी नआए लट्टे, पित्तम सरलाई ‘हामी कुट्ने’ पाईपको लौरो चाहिए लट्टे, कुसुम मिसको बटरफ्लाई क्रिम सक्किए लट्टे, अम्बर सरले हाजिरी कापी बिर्से लट्टे । चङ्गाको लट्टाईजस्तै तपाईको दैनिकि मैले देखेदेखी यसरी नै घुमेको घुम्यै छ । धागोबाट चङ्गा नचुडिएसम्म घुमिरहने – जीवन पनि त चङ्गाको लट्टाईजस्तै त रहेछ !
तपाईको जीवन कति पूर्ण भो, कति अपूर्ण रह्यो त्यो ईतिहासको गर्भमा अझै रहस्यपूर्ण छ । यधपी यो फोटो देखेपछी त्यत्तिकै बस्न सकिन । कक्षा चारदेखी दशसम्म ६ बर्ष मैले तपाईलाई उस्तै हुलिया, उस्तै चञ्चल, उत्तिकै फूर्तिलो र उतिनै लगनशिल देखेँ । त्यो प्राथामिक दिनका सम्झनाहरु जति लेखेपनि सक्किदैन जस्तो लाग्छ । तर, हम्मर र घण्टिको घर्षणले जहाँ पुगे पनि छोडेन दाई । जति जूम गरेर पढ्न खोजेपनि तपाईले बोकेर उभिरहेको त्यो सम्मान पत्रको ब्यहोरा राम्ररी पढ्न सकिएन । तर, मनको पार्टेशन कोठामा कता कता लागिरह्यो – त्यो सम्मान पत्रको ब्यहोरा कास मैले लेख्न पाएको भए !
उहि तपाईको भूतपूर्व ग्राहक
पारिस्वाँरा सिरामको छोरो
८ जनावरी, डेथभ्याली ।
प्रतिक्रिया दिनुहोस