९ असार , बाह्रबिसे ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बाह्रबिसे नगर सरकारकाे पहिलो नीति तथा कार्यक्रम र बजेट असार ९ गते नगरपालिकाकाे एघारौं नगर सभा मार्फत सार्वजनिक गरिएको छ । पुर्व सुचना तथा सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतकाे प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठकाे बिशेष आतिथ्यतामा सम्पन्न नगरसभाले नगर उप प्रमुख मञ्जु तामाङबाट प्रस्तुत ६२ कराेड बराबरकाे आगामी आ.ब. २०७९/८० काे अनुमानित आय ब्यय बिबरण (बजेट) पारित गरेको छ ।
नगरप्रमुख बालकृष्ण बस्नेतबाट प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , कृषि र पर्यटनलाई बढी प्राथमिकता दिइएको छ । विगतमा सामुदायिक बिद्यालयमा कक्षा ५ सम्म अध्ययनरत बालबालिकामा मात्रै दिदै आएको दिवा खाजा सुविधा आगामी आ.व. बाट कक्षा ८ सम्मका बिद्यार्थीहरुलाई दिइने भएकाे छ । संविधानमा माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको सुबिधा दिने भनिएपनि कार्यन्वयन नभएको अवस्थामा अब बाह्रबिसे नगरपालिकाले आफ्नो पालिका भित्र कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ । साथै अब बाह्रबिसे नगरपालिकालाई लेकाली आलुकाे पकेट क्षेत्रका रुपमा बिकास गर्न पनि बिशेष याेजना बनाइनेछ ।
नगर सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि बस्नेतले नगरपालिका भित्रका ठुला याेजना सञ्चालन गर्न जतिसुकै बजेट आवश्यक परेपनि आफुले केन्द्रबाट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । साथै बस्नेतले बाह्रबिसेलाई नमुना नगर बनाउन आफू सदैव लागिरहेको र लागिरहने समेत बताए ।
प्रतिक्रिया दिनुहोस