
आगामी बैशाख ३० गते देशैभर एकैसाथ हुनलागेको स्थानीय तह निर्वाचनका लागी सबै प्रमुख राजनैतिक दलहरु उम्मेदवार छनौट देखी लिएर बिबिध गतिबिधिमा क्रियाशिल देखिएका छन । सबै पार्टीमा पालिका प्रमुख, उपप्रमुख देखि वडा अध्यक्ष सम्मकालागी प्रशस्तै आकांक्षीहरु देखिएका छन । त्यस्तै आकांक्षीहरु मध्ये सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाको अध्यक्षका आकांक्षी नेकपा (माओवादी केन्द्र) का नेता आङ्छिरी शेर्पा संग नयाँपानी खबरका लागि रामकृष्ण थापाले गरेको कुराकानीको सक्षिप्त अंश :
स्थानीय तह चुनावमा तपाइँको आकांक्षा रहेको पाइयो । यति महंगो चुनाव किन लड्न चाहनुहुन्छ ?
भोटेकोसी गाउँपालिकामा राजनीतिलाई बुझेर सचेत रुपमा राजनीतिमा क्रियाशील भएको नाताले निर्वाचनजस्तो राजनीतिको महा उत्सवमा मेरो पनि आकांक्षा नहुने भन्ने होइन । तर, केही अग्रज साथीहरु पनि हुनुहुन्छ । उहाँहरुको साथ समर्थन हुने हो भने म पछि हट्ने कुरा छैन । जहाँसम्म महंगो चुनावको कुरा छ, राजनीतिलाई पेशा होइन सेवा बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । तपाइँको मिडियामार्फत् भोटेकोसीवासीलाई अपिल र अनुरोध गर्न चाहन्छु कि क्षणिक स्वार्थ नहेरी निर्वाचन पछि दीर्घकालीन विकासको भविष्यबारे सबैले सोच्ने बेला आएको छ । सही र गलत छुट्याएर निर्णय लिँदा भोटेकोसीको दीर्घकालीन हित हुन्छ । यसप्रति भोटेकोसीवासी सचेत छन् र म विश्वस्त छु । चुनावमा भड्किलो खर्च गर्ने र निर्वाचित भएपछि विकास बजेट स्वार्थमा सक्ने परिपाटीलाई हामीले दुत्कार्नु पर्छ । त्यसतर्फ चनाखो रहन म आह्वान गर्छु ।
तपाइँले टिकट पाउने आधार के–के हुन् ?
भोटेकोसीमा राजनीतिलाई शक्ति र पद ठूलो कि पार्टीको विचार, सिद्धान्त र एजेण्डा ठूलो ? फरक छुट्याउन सक्ने गरी राजनीतिमा होमिएको युवा भएको नाताले १५–१६ वर्षदेखि निरन्तर राजनीतिक र सामाजिक रुपमा जनताको सेवामै रहेको र मेरो पार्टीको विभिन्न समितिको सचिव, अध्यक्ष हुँदै अहिले पालिका इन्चार्जको रुपमा निरन्तर सक्रिय छु । मैले टिकट पाउने यो भन्दा बलियो आधार अरु के हुनसक्छ ?
टिकट पाउनुभयो भने चुनावी खर्च कसरी जुटाउनुहुन्छ ?
हाम्रो पालिकामा पाँच वडा छन् । प्रचार–प्रसार मतदाता भेटघाट नेता कार्यकर्ता परिचालनमा त्यस्तो धेरै खर्च हुन्छ भन्ने मैले सोचेको छैन । तैपनि, म आफै १६ वर्षको उमेरदेखि व्यवसाय र राजनीतिलाई सँगै लिएर अगाडि बढेको मान्छे भएकोले चुनावी व्यवस्थापन राम्ररी गर्न सकिन्छ । म राजनीतिक, आर्थिक र सामाजिक सम्बन्धका हिसाबले सक्षम छु । साथमा पार्टीको गौरवशाली इतिहास र उपलब्धीपूर्ण एजेण्डा छन् ।
जनमत माग्ने तपाइँको मार्गचित्र के–के हुन् ?
पहिलो कुरा, राजनीति र सामाजिक रुपमा क्रियाशील भएको मेरो उमेरका मान्छे भोटेकोसीमा कम छन् । भन्नुको अर्थ के हो भने, यहाँ आइपरेका भूकम्प र बाढीपहिरोको महाविपत्तिमा मैले गरेको काम र योगदानबारे सबैलाई अवगत नै छ । यो स्थानीय र व्यावहारिक पक्ष भयो । दोस्रो कुरा हाम्रो पार्टीको नाराहरुमध्ये “समाजवाद उन्मुख समृद्धिको लागि स्थानीय सरकार, माओवादी केन्द्रको स्थानीय सरकार निःशुल्क, शिक्षा, स्वास्थ्य र अनिवार्य रोजगार” भन्ने छ । अर्को पाटो, विशाल छिमेकी चीनको सीमा, यहाँको स्रोतसाधन यहाँको जनताको जीविकोपार्जनसँग जोडेर योजना बनाउने छौं । ५० औं लाख तिरेर ज्यानको बाजी लगाएर शरणार्थी बन्न अमेरिका जाने र अन्य देशमा जाने युवा शक्तिहरु भोटेकोसीमा रोक्ने र शिक्षा, स्वास्थ्य रोजगारको शिलशिलामा काठमाण्डौं बस्ने धेरै भोटेकोसीवासीलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नको लागि कृषि र पर्यटनमा तत्कालीन र दीर्घकालीन योजनाहरु बनाउँदै समृद्ध भोटेकोसीको प्रष्ट चित्र कोरेर जनतासमक्ष जाने हो ।
तपाइँको पार्टी र अन्य प्रतिस्पर्धी दलको हालको अवस्था कस्तो छ ?
भोटेकोसीमा हाम्रो पार्टीको संगठित सदस्य १४ सय ४४ जना छन् । संगठनमा युवा, पढेलेखेका र सचेत मानिस बढी आबद्ध छन् । विचार, संगठन, नेतृत्व र एजेण्डा सबै हिसाबले माओवादी केन्द्र पहिलो पार्टी हो । काँग्रेस दोस्रो शक्ति हो । तर, त्यहाँ व्यक्तिवादी प्रवृत्ति बढी छ । एमालेको संगठन राम्रो थियो तर अहिले विभाजनको शिकार भएको छ । एमाले र एकीकृत समाजवादीको अवस्था उस्तैउस्तै छ ।
प्रतिक्रिया दिनुहोस