
नयाँपानी खबर
काठमाडौ, बाह्रबिसे
त्रिपुरासुन्दरी वडा नं. ३ धुस्कुनका निमादोर्जे तामाङ २६ वर्षदेखि राजधानीको कोटेश्वरमा मम होटेल चलाउँछन् । बिहान पाँच बजे उठेर बेलुका १० बजेपछि सुत्छन् । बिहानदेखि बेलुकासम्मको १७ घण्टा उनी भाँडा मोल्छन्, कसेर लाउँछन्, मम तयार पार्छन् अनि काउन्टरमा बस्छन् ।
होटेलमा परिआउने सबै काम उनी गर्न तयार छन् । उनको मम पसलको नाम शिखर मम हो । यो नाम निकै चर्चामा छ । अहिले उनलाई निमादोर्जे भन्दा पनि शिखर भनेर मानिसले चिन्छन् । २०४५ मा कामको खोजीमा सिन्धुपाल्चोकबाट काठमाडौ छिरेका तामाङ आठ वर्ष अर्कैको मजदुरी गरे । २०५२ मा शिखर मम सञ्चालनमा ल्याए । अहिले उनको होटेलमा २५ जनाले रोजगार पाएका छन् ।
२५ जनालाई रोजगार दिएका तामाङ आफै पनि भाँडा मोल्छन् । चुप लागेर कहिल्यै बस्दैनन् । होटेलमा काम गर्ने युवालाई पारिश्रमिक पनि राम्रै दिन्छन् । ‘यहाँ काम गर्ने मजदुरले आफ्नो घरव्यवहार राम्रोसँग चलाउनसक्छन्,’ उनले भने, ‘म आफै मजदुरी गरिरहेकोले मजदुरको जीवन मैले बुझ्छु ।’
उनी मम मात्रै बनाएर बस्दैनन् । फुर्सद हुनसाथ गाउँ पुग्छन् र सामाजिक काममा हात हाल्छन् । बेलाबेलामा धुस्कुन पुग्ने तामाङ नेपाली काँग्रेसका इकाइ सभापति पनि हुन् । उनले राजनीतिभन्दा सामाजिक काममा बढी समय दिन्छन् । कोरोना, बाढीपहिरो पीडितलाई राहत दिएका छन् । शिक्षा, स्वास्थ्य र जनजीवनका सवालमा उनले गाउँमा पुगेर सक्दो सहायता प्रदान गरिरहेका छन् । ‘आफू जन्मेको ठाउँमा केही गर्छु भन्ने सोचाइ र योजना छ,’ उनले भने । भाँडा मोल्दै मम बेचेर कमाएको पैसा सुरक्षित गरेर छोराछोरीलाई उच्च शिक्षा दिलाएका छन् । अब उनी मम पसलमा मात्रै सीमित नहुने भएका छन् । स्थानीय चुनावमा मौका मिले जनप्रतिनिधि हुने उनको रणनीति छ । ‘गाउँघरमा धेरै भ्रष्टाचार भयो त्यो रोक्न पनि राजनीतिमा सक्रिय हुने कि भन्ने सोचाइ आएको छ,’ वडा अध्यक्षमा उठ्ने संकेत गर्दै उनले भने । सुरुमा उनी राप्रपातिर थिए । पूर्वसांसद रमेश लामाको प्रेरणाले राजनीतिमा सामेल भएका थिए । उनी सक्रिय राजनीति गर्दैनन् । तर, चासो राख्छन् । मजदुरी गरेर परिवारलाई सेटल गरेकोले राजनीतिबाट समाजमा केही गर्न चाहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस