मेलम्ची । मेलम्ची नगरपालिकामा नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरूका लागि कृत्रिम बौद्धिकता (AI) सम्बन्धी दुईदिने क्षमता विकास कार्यशाला आजदेखि सुरु गरिएको छ।
कार्यशालाको उद्घाटन गर्दै उपप्रमुख उमा प्रधानले शिक्षण सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग अब विकल्प नभई आवश्यकता बनेको बताए । उहाँले शिक्षकहरू समयअनुकूल ज्ञान र सीपसँग अद्यावधिक हुँदै डिजिटल शिक्षातर्फ अघि बढ्नुपर्नेमा जोड दिए ।
उनका अनुसार कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोगले शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउन सहयोग पुर्याउनेछ। साथै, एआई प्रयोग गर्दा नैतिकता र विद्यार्थीको गोपनीयताको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए ।
नगरपालिकाले शिक्षा क्षेत्रमा सूचना प्रविधिको उपयोग विस्तार गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा शिक्षकहरूलाई एआईको आधारभूत अवधारणा, शिक्षणमा यसको प्रयोग, सामग्री निर्माण, मूल्याङ्कन तथा डिजिटल सिकाइका विविध पक्षबारे प्रशिक्षण दिइने शिक्षा शाखा प्रमुख लक्ष्मी रिजालले जानकारी दिए ।
कार्यशालामा सहभागी शिक्षकहरूले यसले आधुनिक शिक्षण विधि अपनाउन र कक्षा शिक्षणलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस