मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित गुफाडाँडामा छैठौँ जलवायु गुफाडाँडा सम्मेलन २०८२ सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम आफ्नो भनाइ राख्दै जनताको शासन मन नपर्नेहरुले गाजाको तालमा लठ्ठ भएर जेनजी आन्दोलनको नाममा हाइज्याक गरेर संसद भवन, सिंहदरबार, अदालत लगायतका सार्वजनिक सम्पत्तिहरू जलाएको आरोप लगाउनुभयो । उहाँले राजनीतिको र राजनीतिक दलको नाममा भ्रमछर्नेहरु गाउँ छिर्न सक्ने भन्दै सचेत हुनपर्ने बताउनुभयो ।
देशमा गरिखानेको दिन सुरुभएको बताउनुभएको छ । उहाँले ठगी खाने र मागी खानेको जमाना गएकाले अब हरेक जनता आत्मनिर्भर बनाउने गरि प्रदेश र स्थानीय तहले काम गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले अहिले निर्वाचन हुने वातावरण नभएको भन्दै सरकार निर्वाचन गर्नेगरि अगाडि नबढेको बताउनुभयो । जनतामा युट्युब, फेसबुकबाट भ्रम छरेर दिगभ्रमित गरेकाले जेलबाट छुटेका कैदीहरुबाट शहर बजार असुरक्षित बनेको बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिदै गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउने बताउनुभयो ।
कार्यक्रमका सभापति मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलवायु पार्क र मेलम्चीदेखि ज्यामिरे गुफाडाँडा, ओखरेनी सडक निर्माणको जिम्मेवारी प्रदेशका मुख्यमन्त्रीले लिएको भन्दै गुफालाई पर्यटकीय हिसाबले निर्माण गर्ने कुरामा मेलम्ची मात्रै नभई छिमेकी पालिकासमेत लागिरहेको बताउनुभयो । तालिम सेन्टर, बुद्धको मुर्ति, टावर बनाएर गुफाडाँडालाई पर्यटकीय र शैक्षिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको मुर्ति, डम्फूपार्क, सिँढी निर्माणको लागि बजेट बिनियोजन भैसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री एवम् एमाले नेता शेरबहादुर तामाङले जलवायु परिवर्तनका कारण नेपालले भोगेको समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय समुदायले दिने बजेट नदिएको भन्दै गुफाडाँडालाई जलवायु सम्मेलन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बजेट माग गरेर कार्ययोजनासमेत बनाउन नसकेको प्रति आपत्ति जनाउँदै जलवायु परिवर्तनका बारेमा कुरा गर्दै बिदेश जानेहरुले अहिलेसम्म के गरे भन्ने प्रश्न गर्नुभयो ।
त्यस्तै बागमती प्रदेशका कानुन मन्त्री शिवराज अधिकारीले जलवायु परिवर्तनको असर र त्यसबाट हुने क्षति न्युनिकरणका लागि तीनै तहका सरकार सहकार्य गरेर अघि बढ्दै विकशित राष्ट्रसँग यसकाे क्षतिपूर्ति दाबी गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी तामाङ, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, निवर्तमान जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ, एमाले नेता बालकृष्ण देउजा, नगरपालिकाका उपप्रमुख उमा प्रधान लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा जलवायुविज्ञ महेश्वर ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा खैजडी भजन, झाँक्रीनाच, विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रस्तुतिसमेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस