काठमाडाैँ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।
कुलमान घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन्। उनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका हुन्। यस भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।


प्रतिक्रिया दिनुहोस