काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं–२ का उम्मेदवार बंशलाल तामाङले विगतमा सही प्रतिनिधि छनोट गर्न नसक्दा देशले गम्भीर समस्या भोग्नुपरेको बताएका छन्।
नेपाल भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा राजधानी काठमाडौँमा आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले विगतका गल्तीबाट पाठ सिकेर अब सही नेतृत्व चयन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले आफूहरू ‘विना बर्दीका सेवक’ भएको उल्लेख गर्दै जनताको हितमा काम गर्ने सक्षम, इमानदार र उत्तरदायी प्रतिनिधि चयन गर्न सके मात्र देश सही दिशामा अघि बढ्ने बताए। गलत निर्णयको परिणाम देशले प्राकृतिक तथा मानवीय संकटका रूपमा भोग्नुपरेको उल्लेख गर्दै उनले अब दोहोरिन नदिने संकल्प गर्नुपर्नेमा जोड दिए।
तामाङले आगामी निर्वाचन सबैको साझा लडाइँ भएको उल्लेख गर्दै लोकतन्त्र, स्थायित्व र विकासका लागि कांग्रेसलाई विजयी गराउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस