![logo](https://nayapanikhabar.com/wp-content/themes/2021/img/logo.png)
सुनकोसी गाउँपालिका सुनखानीकी कृष्णकुमारी कुवँरले अध्यक्षमा मनोनयनपत्र दर्ता गर्दा ‘सैन्य काशन’ को भाषामा बोलेकी थिइन्, ‘पुरुषभन्दा महिला केहीमा पनि कम हुँदैनन् । म पुरुषवादी सत्तालाई भत्काएर छाड्छु । कुवँर सिन्धुपाल्चोकको स्थानीयतह प्रमुखमा उठ्ने पहिलो महिला बनेकी छन् । ०७४ को निर्वाचनमा पनि महिला उम्मेदवारले प्रमुखमा मनोनयन दर्ता गराएका थिएनन् । कुवँरले उम्मेदवारी दिएको सुनकोसी गाउँपालिकामा ०७४ को निर्वाचनमा माओवादी १७ सय मतसहित तेस्रो भएको थियो । ‘यस पटक म पुरुषहरुसँग स्वस्थ र कडा प्रतिस्पर्धा गरेर परिणाम हात पार्छु,’ उनले दृढ हुँदै भनिन् ।
कृष्णकुमारी कुवँर अर्थात् कल्पना १० वर्षे सशस्त्र जनयुद्धकी सेक्शन कमाण्डर हुन् । १४ वर्षको कलिलो उमेरमा माओवादी छापामार भएकी उनले केही समय अखिल क्रान्तिकारीमा रहेर काम गरिन् । गरिब किसान परिवारमा उनको जन्म भयो । महिला, दलित र उत्पीडनमा परेका मानिसको मुक्तिको सपना बोकेर जनयुद्धमा सामेल भइन् । सानैमा राजनीति गर्न तम्सिएकी कल्पनाले धेरैजसो समय जनमुक्ति सेनामा बिताइन् । महिला छापामारमा उनको कौशलताले पार्टीमा सांगठनिक हैसियत पनि राम्रो थियो ।
जनयुद्धमा सामेल जनजातिको छोरा विष्णु तामाङ हिमेशसँग उनले लडाइँकै मैदानमा जनवादी विवाह गरिन् । ‘जातप्रथामा आधारित पुरानो वैवाहिक सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउन मैले अन्तर्जातीय विवाह गरेको थिएँ,’ विवाहको दिन सम्झँदै उनले भनिन् ।’ उनका पति हिमेश जनयुद्धका प्राविधिक हुन् । तामाङले रिमोट बम र लन्चरसम्म तयार पारे । जनयुद्धमा धेरै ठूलो भूमिका निभाएको यो नमूना जोडी अहिले भोट माग्न सुनकोसीको गाउँघरमा पुगेका छन् । ‘महिला, दलित, जनजाति र सबै उत्पीडितको पक्षमा काम गर्न कल्पनाले जित्नुको विकल्प छैन,’ पति हिमेशले भने, ‘पैसाको भरमा जनताको मत प्रभावित पार्ने विकृति हटाउन मपनि फिल्डमा आएको छु ।’ कुवँरसँग प्रतिस्पर्धा गर्न निवर्तमान अध्यक्ष श्रवणकुमार जिसी काँग्रेसबाट र एमालेबाट टपिन्द्रप्रसाद तिमल्सिना मैदानमा छन् । दुवै प्रतिस्पर्धी व्यापारिक पृष्ठभूमिका हुन् ।
प्रतिक्रिया दिनुहोस