नयाँपानी खबर
चौतारा
तीन दिनदेखि जिल्ला र काठमाडौको विभिन्न स्थानमा लगातार बसेको बैठकबाट कुनै निश्कर्ष नआएकोले काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको चुनावी तालमेल अन्योलमा परेको छ । आठ सिट चाहिने काँग्रेसको पूर्वअडान यथावत् रहेकोले गठबन्धन असहज बन्दै गएको हो ।
सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको आ–आफ्नै स्वार्थ बैठकमा टकराएकोले पनि गठबन्धन अन्योलमा परेको हो । यद्यपि, बैठकलाई निरन्तरता दिने सहमति चाहिँ भएको छ ।
सापकोटा र बस्नेतको क्षेत्र एउटै भएकोले प्रदेश र संघको चुनावलाई आफ्नो पक्षमा पार्ने उद्देश्यसहित स्थानीय तहको सिटमा बढी सिट दाबी गरिरहेकोले कुरा मिलेको छैन । बैठकमा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, जिल्ला सभापति जंगबहादुर तामाङ र पूर्वसभापति विकास लामा, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य माधव सापकोटा, जिल्ला अध्यक्ष गोविन्द पराजुली र एकीकृत समाजवादीबाट केन्द्रीय सदस्य सुभाष कर्माचार्य र जिल्ला अध्यक्ष नवराज पौडेल सहभागी छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले जिल्लाको १२ तहमध्ये ६ सिट दिनुपर्ने माग राखेका छन् । तर, काँग्रेसले दुई पार्टीलाई चार सिटमात्र दिनसकिने बताएपछि बैठक अन्योलमा परेको हो । हालको संगठन र पहिलो स्थानीय निर्वाचनको मतलाई आधार मान्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले ६ सिट माग्नु स्वभाविक भएको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए । तर, काँग्रसले एक्लै आठ स्थान जित्ने दाबी गरेको छ । सभामुख सापकोटा र पूर्वमन्त्री बस्नेतको क्षेत्रमा सात स्थानीय तह छन् । ०७४ को स्थानीय चुनावमा काँग्रेस र माओवादीले एकएक सिट जितेका थिए । त्यसैलाई आधार मानेर सिट बाँडफाँड गर्न माओवादीले प्रस्ताव राखेको छ । तर, काँग्रेसले बढी सिट मागेकोले कुरा मिलेको छैन । काँग्रेस जिल्ला सभापति जंगबहादुर लामाले वार्ता जारी रहेको बताए । ‘माओवादी र एकीकृत समाजवादीलाई चार सिट दिने भनेका छौं । उहाँहरुले ६ सिट माग्नुभएको छ,’ उनले भने, ‘हामीलाई १२ मध्ये आठ चाहिन्छ भनेका हौं ।’ एक्लै जित्छु भन्ने काँग्रेसको घमण्डले गठबन्धन अन्योलमा परेको माओवादी र एकीकृत समाजवादीले आरोप लगाएका छन् ।
एकीकृत समाजवादीले मेलम्ची नगरपालिका मागेको छ । माओवादीले भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका आफूले जित्ने दाबी गरिरहेको छ । बलेफी र जुगलमध्ये एक छोड्नुपर्दा इन्द्रावती चाहिने माओवादीको बटमलाइन छ । इन्द्रावतीमा माओवादी र एकीकृत समाजवादी मिल्दा चुनाव जित्ने सम्भावना छ ।
गठबन्धनमा कुरा नमिले माओवादी र एकीकृत समाजवादीबीच तालमेल गरेर जाने विषयमा पनि छलफल चलिरहेको छ । काँग्रेसले बाह्रबिसे, त्रिपुरासुन्दरी, सुनकोसी, हेलम्बु, पाँचापोखरी थांपाल र इन्द्रावती, बलेफी, जुगलमध्ये एउटा लिँदा ६ सिट हुन्छ । दुई पार्टीलाई ६ र काँग्रेसलाई ६ सिटमा भागबन्डा मिलेमा तालमेल हुने नत्र नहुने सम्भावना रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले बताए । काँग्रेससँग गठबन्धन नभएपनि माओवादी र एकीकृत समाजवादीले जिल्लाभर तालमेल गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रले १२ वटै स्थानीय तहका उम्मेदवारको सिफारिस माथिल्लो कमिटीलाई पठाइसकेको छ । गठबन्धनको निर्णय कुरिरहेको काँग्रेसले हालसम्म उम्मेदवारको सिफारिस गरेर माथिल्लो कमिटीमा पठाएको छैन ।
प्रतिक्रिया दिनुहोस