नेपाली कांगे्रसले गत स्थानीय निर्वाचन २०७४ मा सजिलै जित्ने अपेक्षा गरेको बाह्रबिसे नगरपालिकामा अन्तत नेकपा (एमाले) संग नराम्ररी पराजित हुनुपरेको थियो । गत चुनावको पैंचो तिर्ने दाउमा रहेको नेपाली कांग्रेसका मेयर पदका प्रवल आकांक्षी बालकृष्ण बस्नेतसंग नयाँपानी खबरकालागी रामकृष्ण थापाले गरेको संवादको सम्पादित अंश :
स्थानीय तह चुनावमा तपाइँको आकांक्षा रहेको पाइयो, यति महंगो चुनाव किन लड्न चाहनुहुन्छ ?
मैले चुनावमा महंगो संस्तोको जोडघटाउ गरेको छैन । म विकासको एजेण्डा लिएर चुनावमा जाने सोचाइमा छु । विकाससँगै भ्रष्टाचार न्यूनीकरण गर्ने मेरो एजेण्डा हुनेछ । साथै मेरो लागि चुनाव महंगो पनि हुँदैन । मसँग कसैले पनि पैसा माग्दैनन् किनकि, मेरो नगरका सम्पूर्ण बासिन्दाको सुखदुःखमा मैले साथ दिएको छु । विकास, सुशासन र जनतालाई छिटो तथा छरितो सेवा दिने मेरा प्रतिवद्धता हुन् । तसर्थ, मेरा लागि चुनाव महंगो हुँदैन ।
तपाइँले टिकट पाउने आधार के–के हुन् ?
मेरो नगरमा दर्जनौं साथीहरु टिकट पाउन लायक हुनुहुन्छ । म सबैलाई सम्मान गर्छु । तर, म हिजोको घाइते तथा आजपनि पार्टीको क्षेत्रीय सभापति भएकोले मैले टिकट पाउने भन्दा पनि मै चुनाव लड्न उपयुक्त भनेर नगरका साथीहरुले मलाई नै दबाब दिइराख्नु भएको छ ।
टिकट पाउनुभयो भने चुनावी खर्च कसरी जुटाउनुहुन्छ ?
मैले माथि नै भनेँ म यो नगरको लागि चिनिएको व्यक्ति भएकोले मेरो क्षमताले थेग्नै नसक्ने खर्च लाग्दैन । धेरथोर मैले नै व्यवस्थापन गर्ने सोचेको छु । पार्टीको साथीहरु तथा शुभचिन्तकले मलाई साथ दिनुहुनेछ किनकि, म चुनाव लड्दै गर्दा म लड्ने भन्दा पनि पार्टी लड्ने भएकोले साथ सहयोग जुट्छ । निर्वाचनमा कृयाशील मेरो पार्टीका साथीहरुलाई म भोकै राख्दिन ।
जनमत माग्ने तपाइँको मार्गचित्र के–के हुन् ?
केन्द्रीय सरकारमै नेपाली जनताले हिजो नेकपालाई बहुमत दिँदा पनि सरकार चलाउन नसकेकोले पटकपटक संसद भंग गरेकोले नेपाली जनताले स्थिरता र विकास खोजेका छन् । म जनतालाई स्थिरता र विकास नेपाली काँग्रेसले मात्र दिनसक्छ भन्ने नारा दिएर जनताबीच जान्छु मैले टिकट पाएमा ।
तपाइँको पार्टी र अन्य प्रतिस्पर्धी दलको हालको अवस्था कस्तो छ ?
हिजो बाह्रबिसे नगर हामीले हारेका थियौं । नेकपाको टुटफुट, बामपन्थीको भूलभूलैयामा जनतालाई राख्ने रणनीतिको बाबजुद पनि आजका मितिमा मेरो क्षेत्र नम्बर १ मात्र नभै जिल्लाभरि नै नेपाली काँग्रेसको पक्षमा व्यापक माहोल निर्माण भएकोले हामीले समग्र नगर तथा गाउँ हुँदै जिल्ला समन्वय समितिसमेत बनाउँछौं तपाइँको मिडियामार्फत म सिन्धुवासीलाई ढुक्क हुन आग्रह गर्दछु ।
प्रतिक्रिया दिनुहोस