बाँडेगाँउ ।
मतदाता संख्याकाे हिसाबले इन्द्रावती गाउँपालिकाकाे दाेस्राे ठुलो वडा रहेको ५ नम्बर वडामा पनि स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कुनै समयमा राप्रपाकाे बलियो पकड रहेको यस वडामा अहिले राप्रपा सबैभन्दा कमजोर शक्तिको रुपमा रहेको देखिन्छ भने एकीकृत समाजवादीकाे पनि उल्लेख्य उपस्थित देखिदैन । यस वडामा मुख्यतः कांग्रेस , एमाले र माओवादी केन्द्र बिच मै कडा प्रतिस्पर्धा देखिन्छ । २०७४ काे स्थानीय निर्वाचनमा अनपेक्षित नतिजा निकाल्दै कांग्रेसले वडा अध्यक्षमा जित हात पारे पनि ४ जना सदस्य एमालेले जित्न सफल भएको थियोे ।
अन्यत्र झै यहाँ पनि सबै पार्टीमा वडा अध्यक्षका आकांक्षीहरुकाे लर्काे देखिन्छ । कुनै पनि पार्टीको वडा कमिटीले एक जनामात्र सर्वसम्मत उम्मेदवार चयन गरेर पठाउने अवस्था देखिदैन ।
अघिल्लो चुनावमा वडा अध्यक्ष जितेको नेपाली कांग्रेसमा सर्वसम्मत उम्मेदवार छान्न धाैधाै नै रहने अनुमान गरिएको छ । हालका वडा अध्यक्ष दुर्गा बहादुर तामाङ , पार्टीका पालिका कमिटी सहसचिव ऋषिराम आचार्य , अणबहादुर तामाङ र पासाङ तामाङ बिच वडा अध्यक्षकाे टिकट का लागि निकै समय अगाडि देखि दाैडधुप चलेको छ ।
गत चुनावमा अध्यक्ष बाहेकका चार सदस्य जितेको एमालेमा दर्जनभन्दा बढी वडा अध्यक्षका आकांक्षी रहेको बुझिएको छ । अहिलेका वडा सदस्य रुद्रहादुर कटुवाल , रामहरि गाैतम, उमाकान्त आचार्य , सराेज तामाङ , माधव आचार्य इरबहादुर तामाङ लगायतका व्यक्तिहरु एमालेका बलिया दाबेदार रहेका छन ।
त्यस्तै बलियो जनाधार हुदाहुदै पनि गत स्थानीय निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएकाे नेकपा (माओवादी केन्द्र ) पनि आन्तरिकरुपमा संगठन सुदृढीकरण र उम्मेदवार छनाैटकाे तयारीमा जुटेको छ । माओवादी केन्द्रबाट बुद्धिप्रसाद आचार्य , रत्नप्रसाद आचार्य, दिनेशचन्द्र हिमालय र सुरेश कटुवाल मध्येबाट नै वडा अध्यक्षकाे उम्मेदवार हुने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस