स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारमा दाबी गर्ने आकाँक्षी बढ्न थालेका छन् । प्रमुख तीन राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रमा उम्मेदवार दाबी गर्ने बढेका हुन् ।
तीन दलले चुनाव केन्द्रित कार्यक्रमलाई तीब्र पारेका छन् । एता एकीकृत समाजवादीले संगठन विस्तारलाई युद्धस्तरमा अघि बढाएको छ । केन्द्रीय सदस्य सोम सापकोटाले दिएको जानकारीअनुसार संगठन विस्तारमा व्यस्त रहेकोले उम्मेदवार दाबी गर्ने फुर्सद छैन । उता राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले उम्मेदवारमा दाबी गर्ने थुप्रै भएपनि सतहमा आइनसकेको बताए । यद्यपि, एमाले, माओवादी र काँग्रेसमा भने उम्मेदवारका लागि चरणबद्ध छलफल चल्न थालेका छन् ।
पार्टी नेता तथा दलका जवस÷मोर्चाका नेताबाट प्राप्त जानकारीअनुसार नगर प्रमुखमा दाबी गर्ने धेरै छन् । तीनवटै ठूला दलमा नेताको संख्या पनि ठूलो भएकोले स्वभाविक रुपमा टिकटको दाबी गर्ने बढ्ने नै भए । स्रोतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हालका मेयर अमानसिंह तामाङ, नेताहरु टिएन सापकोटा, झम्क पराजुली र श्यामकृष्ण श्रेष्ठले दाबी गरिरहेको बुझिएको छ । त्यसैगरी काँग्रेसमा नेताहरु झलक नेपाल, टंक कार्की र केशव गिरीको सम्भावना छ । एमालेबाट रामचन्द्र बस्नेत, इन्द्र नेपाल र बादल तामाङको नाम चर्चामा छ ।
मेलम्ची नगरपालिकामा काँग्रेसबाट आइतमान तामाङ र सागरकुमार श्रेष्ठको सम्भावना छ । एमालेबाट हालका मेयर डम्बरबहादुर अर्याल, नेताहरु बालकृष्ण देउजा र मित्रलाल चौलागाइँको नाम चर्चामा छ । माओवादी केन्द्रबाट नेताहरु चन्द्रबहादुर थापा, सीपी दुलाल र देबेन्द्र घोरासैनीको सम्भावना बलियो छ ।
बाह्रबिसे नगरपालिकामा एमालेबाट हालका मेयर निम्फुञ्जो शेर्पा, उपमेयर सुशीला पाख्रिन र सागर घिमिरेको सम्भावना छ । काँग्रेसबाट शम्भु तिमल्सिना र बालकृष्ण बस्नेतको दाबी रहेको बुझिएको छ । माओवादी केन्द्रबाट नेता बुद्धराज बस्नेतले टिकट पाउने लगभग निश्चित भएको छ । उम्मेदवार छान्न दलका नेता वान टु वान कुराकानी र सामूहिक छलफलमा व्यस्त रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस