मेलम्ची । शिशुको स्वस्थ भविष्य सुनिश्चित गर्न स्तनपानलाई प्राथमिकता दिनु र लागूऔषध दुव्र्यसन नियन्त्रणलाई समुदायस्तरबाटै अभियानका रूपमा अघि बढाउनुपर्ने निष्कर्षसहित मेलम्चीमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मेलम्ची नगरपालिकाको सहआयोजनामा भएको कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ को प्रभावकारी कार्यान्वयन, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धिका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका अध्यक्ष तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्तनपान शिशुको नैसर्गिक अधिकार भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए। उनले चिकित्सकको सल्लाहबिना आमाको दूधको विकल्प प्रयोग नगर्न र व्यवसायीहरूले यस्ता सामग्री बिक्री गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे। साथै लागूऔषध दुव्र्यसन न्यूनीकरणको अभियान घर–घरबाट सुरु हुनुपर्नेमा जोड दिए।
सिन्धुपाल्चोकका जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतमले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ का कानुनी प्रावधानबारे जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राखे।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले नवजात शिशुको लागि आमाको दूध सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको उल्लेख गर्दै जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्न र कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिसबारे जानकारी दिए। उनले आमाको दूधले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण र संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा सहभागीहरूले स्तनपानसम्बन्धी जनचेतना समुदायसम्म विस्तार गर्न, शिशुको स्वस्थ विकासका लागि स्तनपानलाई प्राथमिकता दिन तथा लागूऔषध दुव्र्यसनविरुद्ध समाजका सबै तह र वर्गले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा मेलम्ची नगरपालिकाका वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी, जनस्वास्थ्य कार्यालय तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जनस्वास्थ्य अधिकृत साहारा सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस