मेलम्ची । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका देशभरका उत्कृष्ट १० स्थानीय तहभित्र पर्न सफल भएको छ। मेलम्ची नगरपालिकाले ९०.७३ अंक प्राप्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहहरूको सूचीमा स्थान बनाएको हो।
प्रतिवेदनअनुसार नीलकण्ठ नगरपालिका ले ९४.४० अंक प्राप्त गरी देशकै उत्कृष्ट स्थानीय तह बनेको छ। त्यसैगरी सोनमा गाउँपालिका १३.५५ अंकसहित सबैभन्दा कमजोर स्थानीय तहका रूपमा देखिएको छ।
मन्त्रालयले पहिलो पटक स्थानीय तहको संस्थागत क्षमता र वित्तीय सुशासनलाई एकीकृत रूपमा मूल्याङ्कन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। यसअघि ‘स्थानीय तह संस्थागत क्षमता स्व–मूल्याङ्कन’ र ‘स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन’ छुट्टाछुट्टै गरिँदै आएको थियो। यस वर्ष भने दुवै प्रणालीलाई समेटेर ‘स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन प्रणाली’ मार्फत समग्र नतिजा सार्वजनिक गरिएको हो।
१०० पूर्णाङ्कको आधारमा गरिएको मूल्याङ्कनमा संस्थागत क्षमतालाई ७० प्रतिशत र वित्तीय सुशासनलाई ३० प्रतिशत भार दिइएको थियो। प्रतिवेदनले स्थानीय सरकारहरूको शासकीय व्यवस्थापन, वित्तीय अनुशासन तथा सेवा प्रवाहको अवस्थालाई समग्र रूपमा मूल्याङ्कन गरेको जनाएको छ।
प्रतिवेदनले धेरै स्थानीय तहहरू समन्वय, वित्तीय व्यवस्थापन तथा न्यायिक कार्यसम्पादनका क्षेत्रमा अझै कमजोर रहेको औंल्याएको छ। साथै कार्यसम्पादनका आधारमा अनुदान तथा प्रोत्साहन उपलब्ध गराउने व्यवस्था प्रभावकारी हुन सक्ने सुझाव पनि दिएको छ।
संविधानले परिकल्पना गरेअनुसार राज्यका स्रोत–साधनमा नागरिकको पहुँच सुनिश्चित गर्न देशभर ७५३ स्थानीय तह क्रियाशील छन्। सात वर्षभन्दा बढी समयको अभ्यासपछि सार्वजनिक भएको यो एकीकृत मूल्याङ्कन प्रतिवेदनले स्थानीय सरकारहरूको संस्थागत सबलता, वित्तीय पारदर्शिता र सेवा प्रवाहको वास्तविक अवस्था उजागर गरेको छ। मेलम्ची नगरपालिकाको उत्कृष्ट नतिजाले स्थानीय शासन सुदृढीकरण र सुशासन प्रवर्द्धनमा नगरपालिकाले हासिल गरेको प्रगतिको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस